बिर्तामोड ।

 जिल्ला प्रहरी कार्यालय झापाले जिल्लामा  भयावह बन्दै गएको लागूऔषधको समस्यालाई समाधान गर्न लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन गरेको छ । लागूऔषधको समस्या विकराल बनेपछि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसँग सहकार्य गर्ने गरी आज (शनिवार) देखि लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन गरेको हो । 

अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन् । अभियानको उद्घाटन समारोहमा जिल्लाका सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आयोजित उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरलगायत सहभागी थिए ।

लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनैपनि पालिका लागूऔषधको समस्याबाट अछुतो नरहेको बताइएको छ । लागूऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर, भद्रपुर, बिर्तामोड र दमक रहेका छन् ।

तीन वटा रणनीतिसहित जिल्ला प्रहरी कार्यालयले शुरु गरेको लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत मुख्य गरेर पाँच प्रकारका कार्यक्रम सञ्चालन गरिने भएको छ । पहिलो कार्यक्रम पोस्टरिङ रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सवै विद्यालयहरुमा टाँस्नका लागि जनप्रतिनिधिहरुलाई पोस्टर दिइने भएको छ । त्यस्तै दोस्रो कार्यक्रम टीच द टिचर्स रहेको छ । विद्यार्थीहरुलाई सचेत बनाउने कडी शिक्षकहरु भएकाले लागूऔषधविरुद्ध सचेतना जगाउन शिक्षकहरुको सहयोग लिइने भएको छ । लागूऔषधविरुद्धको कक्षा सञ्चालन गर्न १५० जना शिक्षकलाई तालिम दिई खटाइने भएको छ ।

तेस्रो कार्यक्रम फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रमअन्तर्गत पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । चौथो कार्यक्रमलाई जान क्लब नाम दिइएको छ । त्यसअन्तर्गत राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाजको सहयोग लिइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले हाल जिल्लामा लागूऔषधको अवस्था र चुनौतीका बिषयमा जानकारी दिएकी थिइन् । उनले लागूऔषधको समस्या प्रहरीले मात्र नभई सरोकारवाला संघ÷संस्थासहित सवैको साथ र सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताउँदै अभियानमा सवैलाई सहकार्य गर्न आग्रह गरेकी छिन् । सोही कार्यक्रमका बिच चेतनामुलक लागूऔषध सम्बन्धी नाटकसमेत प्रस्तुत गरिएको थियो  भने सांस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरिएको थियो ।