• रन्जित परियार 

अर्जुनधारा । 

 झापा अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ‘नगर उत्कृष्ट विद्यालय तथा विद्यार्थी, स्थानीय पाठ्यक्रम विकास समिति एवं पाठ्यक्रम लेखन विज्ञ सम्मान तथा प्रोत्साहन कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा २०८१/८२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याएर उतिर्ण हुने सामुदायिक बिद्यालयका कक्षा ८ तर्फ ओम बिक्रम न्यौपाने सिहदेबी माबि, ह्रदयेन्द्र किरण नेपाल लक्ष्मी माबि, एस ईई परिक्षा दिने आसुतोस ढुङ्गेल लक्ष्मी माबि, निश्चल खतिवडा शनिश्चरे माबि, सम्झना अधिकारी लक्ष्मी माबि, प्रिया सापकोटा शनिश्चरे माबि, त्यसै गरि सस्थागत बिद्यालय २०८२ कक्षा ८ सामर्थ्य पोख्रेल बृलियन्त प्युपल्स सेकेण्डरी स्कुलका विद्यार्थीहरुलाइ नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

 त्यसै गरि २०८२ को नगर स्तरीय कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने महारानीगन्ज मा बि र प्रधानाध्यापक मनबहादुर लिम्बू र एसईईमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी मा बि र प्रधानाध्यापक निर्मला पोख्रेललाई कदरपत्र सहित सम्मान गरिएको थियो । यसै क्रममा स्थानीय पाठयक्रम निर्माण समितिका संयोजक बद्रीप्रसाद ओली, सुर्यप्रसाद सापकोटा, तेजस्वी पौडेल, रुद्र खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

अर्जुनधारा नगरपालिका सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता कौशिकलाल परियारले गरेका थिए भने नगर प्रमुख बलदेव सिंह गोम्देन प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।  कार्यक्रममा नगर उपप्रमुख खड्कामाया पराजुली, वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र बास्तोला, कार्यपालिका सदस्य चन्द्र तामाङ, स्थानीय पाठ्यक्रम लेखन विज्ञहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शिक्षा अधिकृत हरिबहादुर कवरले नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको जानकारी गराएका थिए । साथै स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा योगदान पुर्‍याउने विज्ञ तथा शिक्षाकर्मीहरूको भूमिकाको प्रशंसा गरे।

स्थानीय पाठ्यक्रम विकास तथा निर्माण समितिका संयोजक बद्री प्रसाद ओली तथा पाठ्यक्रम लेखन विज्ञ सूर्यप्रसाद सापकोटा लगायतले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति र परिवेशसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा लक्ष्मी माध्यमिक विद्यालयकी प्रधानाध्यापक निर्मला पोख्रेलले नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने उल्लेख गरिन्।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बलदेव सिंह गोम्देनले नगरभित्र शिक्षाको गुणस्तर क्रमशः सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिए। उनले गुणस्तरीय शिक्षाका लागि नगरपालिका सदैव प्रतिबद्ध रहने बताए। कार्यक्रमको समापन सामाजिक बिकास समितिका अध्यक्ष कौशिकलाल परियारले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षाको गुणस्तर वृद्धिका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।