बिर्तामोड । 

झापास्थित बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले इन्भेष्टिचर समारोह–२०८३, क्याम्ब्रिज इङ्ग्लिस एजुकेशनल पार्टनर घोषणा तथा थ्रीडीआई, न्यूजिल्याण्ड सँगको रणनीतिक सहकार्यलाई एक समारोहमार्फत सफलतापूर्वक सम्पन्न गर्दै आफ्नो शैक्षिक यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । विद्यार्थी नेतृत्व विकास, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य तथा प्रविधिमैत्री शिक्षाको समन्वयका साथ सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथिहरू, शैक्षिक व्यक्तित्वहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको बिद्यालयका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

कार्यक्रमको प्रारम्भ नवनिर्वाचित विद्यालय परिषद्–२०८३ का नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदस्थापन समारोहबाट गरिएको थियो । नवनिर्वाचित विद्यार्थी नेतृत्वले जिम्मेवारी, अनुशासन, इमान्दारिता तथा सेवाभावका साथ आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, विद्यालयका विभिन्न विभागीय प्रमुख शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । यस समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विद्यालयको दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको बिद्यालयले जनाएको छ ।

समारोहको प्रमुख आकर्षणका रूपमा तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुललाई औपचारिक रूपमा क्याम्ब्रिज इग्लिस एजुकेशनल पार्टनर घोषणा गरिएको थियो । यो प्रतिष्ठित मान्यताले विद्यालयले अन्तर्राष्ट्रियस्तरको अङ्ग्रेजी भाषा शिक्षाको प्रवद्र्धन गर्दै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने आफ्नो प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।

यस अवसरमा एलसीसीआई जिक्यूका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत  एवं नेपाल–बेलायत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डाक्टर रोशन राठीले विद्यालयकी कार्यकारी निर्देशक डाक्टर अञ्जली कार्की तथा शैक्षिक निर्देशक डाक्टर भिक्टर इप्रेसियस जोसेफलाई क्याम्ब्रिज इङ्ग्लिस एजुकेशनल पार्टनरको आधिकारिक प्लाक हस्तान्तरण गरेका थिए । सो हस्तान्तरणले अन्तर्राष्ट्रियस्तरको अङ्ग्रेजी भाषा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुई संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाएको छ ।

सोही अवसरमा क्याम्ब्रिज इङ्ग्लिसर तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । सम्झौतामा डाक्टर रोशन राठी तथा डाकटर अञ्जली कार्कीले हस्ताक्षर गरिएको थियो भने सोही अवसरमा डाक्टर भिक्टर इग्नेसियस जोसेफको समेत विशेष उपस्थिति रहेको थियो । यस सहकार्यमार्फत विद्यार्थीहरूको अङ्ग्रेजी भाषा दक्षता अभिवृद्धि, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिकाइ प्रणालीको विस्तार तथा विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र हासिल गर्ने अवसरहरू थप सुदृढ गरिने लक्ष्य राखिएको छ ।

कार्यक्रमकै क्रममा तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल र थ्री डिआई न्यूजिल्याण्ड बीच पनि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौतामा थ्री डिआई का प्रतिनिधि तथा विद्यालयकी कार्यकारी निर्देशक डाक्टर अञ्जली कार्कीले हस्ताक्षर गरेकी थिइन् भने शैक्षिक निर्देशक डाक्टर भिक्टर इग्नेसियस जोसेफको उपस्थितिमा सम्पन्न भएको सो सहकार्यले विद्यालयमा नवप्रवर्तन, डिजिटल प्रविधि तथा भविष्यमुखी शिक्षालाई थप प्रभावकारी रूपमा समावेश गर्ने आधार तयार गरेको छ । 

सोही कार्याक्रमकाबिच विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक तथा प्रविधिमूलक परियोजनाहरूको प्रदर्शनी प्रस्तुत गरेका थिए । प्रदर्शनीमा भर्चुअल रियालिटी, थ्रीडी प्रिन्टिङ,  ड्रोन प्रविधि, रोबोटिक्स, वेब तथा एप विकास लगायतका अत्याधुनिक प्रविधि सम्बन्धी परियोजनाहरू प्रदर्शन गरिएका थिए । विद्यार्थीहरूद्वारा प्रस्तुत यी परियोजनाहरूले विद्यालयले व्यवहारिक, अनुसन्धानमुखी तथा भविष्यका आवश्यक सीपमा आधारित शिक्षालाई प्राथमिकता दिएको स्पष्ट पारेका छन् ।

समारोहमा बिर्तामोड नगरपालिका शिक्षा शाखाका उप–सचिव तिलचन्द भण्डारी प्रमुख अतिथिका रूपमा तथा नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी विशेष अतिथिका रूपमा उपस्थित थिए । उनीहरूको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन, नैतिकता तथा उत्कृष्टताको मार्गमा अघि बढ्न थप प्रेरणा प्रदान गरेको थियो ।

तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले कार्यक्रमलाई सफल बनाउन उपीथत अभिभावक, अतिथि, बिद्यार्थीहरुलाइृ धन्यावद दिदै आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, नवप्रवर्तनमुखी तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार र विश्व प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।