झापा । 

 नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले भर्ना प्रक्रियामा करिब चार महिनाको तलब बराबर खर्च गर्नुपर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्राविधिक सहयोगमा गरेको ‘श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३’ले यस्तो अवस्था देखाएको हो ।

वैदेशिक रोजगार व्यवसायीले कामदारको न्यूनतम एक महिनाको तलब बराबरको रकम सेवा शुल्क तोकिनुपर्ने माग जोडदार रूपमा उठाइरहेका छन् । व्यवसायीले उठाएको माग सम्बोधन हुन नसकेको अवस्थामा सरकार र राष्ट्रसंघीय निकायले गरेको अध्ययनले भर्ना लागत व्यवसायीले माग गरेभन्दा चार गुणा बढी रहेको सार्वजनिक भएको हो ।

प्रतिवेदनमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी श्रमिकमाथि गरिएको सर्वेक्षणअनुसार पुरुष कामदारको औसत भर्ना लागत १ लाख ७० हजार र महिलाको औसत भर्ना लागत १ लाख २० हजार रुपैयाँ रहेको औंल्याइएको छ । प्रतिवेदनमा नेपाली अन्तर्राष्ट्रिय आप्रवासी तथा आप्रवासी श्रमिकहरूले वहन गरेको भर्ना शुल्क तथा अन्य लागत र मासिक आम्दानीको विश्लेषण गरिएको छ । सर्वेक्षणमा देशभरबाट प्रतिनिधित्व हुने गरी ३ हजार ७४२ घरपरिवार समेटिएकाले प्रतिवेदन राष्ट्रियस्तरमा विश्वसनीय रहेको दाबीसमेत गरिएको छ ।

सर्वेक्षणको नतिजाअनुसार नेपालको कुल २ करोड ९६ लाख जनसंख्यामध्ये २४ लाख ५० हजार अर्थात् ८।३ प्रतिशत जनसंख्या वैदेशिक रोजगारीमा गएर फर्किएका छन् । यीमध्ये १६ लाख १० हजार अर्थात् ५।४ प्रतिशत विदेशमा काम गरी नेपाल फर्किएका आप्रवासी श्रमिक हुन् । विदेशमा काम गरी नेपाल फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकमध्ये २ लाख ५३ हजार ६८६ अर्थात् १५।७ प्रतिशत श्रमिक विगत पाँच वर्षको अवधिमा रोजगारीका लागि विदेश गएका छन् ।

सर्वेक्षणअनुसार समग्रमा ३४.७ प्रतिशत नेपाल फर्किएका आप्रवासी श्रमिकले वैदेशिक रोजगारी प्राप्त गर्न कुनै किसिमको शुल्क वा अन्य लागत तिर्नु नपरेको बताएका छन् । आप्रवासी श्रमिक महिलामध्ये ५४.२ प्रतिशतले कुनै लागत नतिरेको बताएका छन् भने पुरुषमा यो अनुपात ३३.२ प्रतिशत रहेको छ । अर्थात् शून्य भर्ना लागतको अन्तर २१ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा कार्यरत श्रमिकमा शून्य लागतको अनुपात सबैभन्दा उच्च ३७.२ प्रतिशत रहेको छ भने उद्योगमा ३२.८ प्रतिशत र कृषिमा २९.५ प्रतिशत रहेको छ ।

नेपाल फर्किएका आप्रवासी श्रमिकको औसत मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ रहेको छ । यसले उच्च मासिक आम्दानी भएका आप्रवासी श्रमिकको संख्या कम भएका कारण औसत आय बढी भएको संकेत गरेको छ । नेपाल फर्किएका पुरुष आप्रवासी श्रमिकको मासिक आम्दानी महिलाको भन्दा केही बढी रहेको छ । पुरुषको औसत तलब मासिक ५४ हजार ७२१ रुपैयाँ छ । तल्लो तलब पाउनेहरूलाई औसत मान्दा ४४ हजार ५०५ रुपैयाँ रहेको छ भने महिलाको औसत ४८ हजार ६४७ रुपैयाँ रहेको छ ।

श्रमिकको मासिक आम्दानी विश्लेषण गर्दा मलेसियामा सबैभन्दा उच्च औसत आम्दानी ५७ हजार ६९६ रुपैयाँ रहेको छ । त्यसपछि कतार र संयुक्त अरब इमिरेट्समा करिब ५५ हजार रुपैयाँ रहेको छ भने भारतमा सबैभन्दा कम औसत आम्दानी २६ हजार ८२ रुपैयाँ रहेको छ । क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी मासिक आम्दानी रहेको छ । उक्त क्षेत्रमा औसत ६५ हजार ३४५ रुपैयाँ, उद्योगमा औसत ४६ हजार १८२ रुपैयाँ र कृषिमा औसत ३४ हजार ५२८ रुपैयाँ रहेको छ । आप्रवासी श्रमिकको मासिक आम्दानी उच्च सीपयुक्त पेसामा सबैभन्दा बढी रहेको देखिन्छ । त्यसमा औसत ६९ हजार ८९१ रुपैयाँ रहेको छ ।

खाडी देशहरू र मलेसिया उच्च भर्ना लागत भएका गन्तव्य देखिन्छन् । ती मुलुकमा औसतमा २ लाख रुपैयाँभन्दा बढी भर्ना शुल्क रहेको छ भने भारत जाँदा पनि भर्ना शुल्क लाग्ने गरेको देखिन्छ । भारत जाँदा सबैभन्दा कम १६ हजार रुपैयाँ लागत देखिएको छ । क्षेत्र तथा सीपअनुसार पनि भर्ना लागत फरक देखिन्छ । सेवा क्षेत्र र उच्च सीपयुक्त पेसामा भर्ना लागत उच्च रहेको छ भने कृषि क्षेत्रमा सबैभन्दा कम भर्ना लागत लाग्ने देखिएको छ । अन्तर्राष्ट्रिय श्रम आप्रवासन नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै प्रतिवेदनले भर्ना शुल्क तथा अन्य लागतका कारण श्रमिकमा उल्लेखनीय आर्थिक भार पर्न सक्ने औंल्याएको छ ।