बिर्तामोड ।
कोशी प्रदेश स्तरीय झापा रकस्टारको तेस्रो संस्करणको ग्राण्ड फिनाले असार २६ गते बिर्तामोडमा हुने भएको छ । अमृत स्टोर बिर्तामोडको आयोजनामा भएको कोशी प्रदेश स्तरीय टिभिएस झापा रकस्टार खुल्ला तेस्रो ब्याण्ड प्रतियोगितामा पाँच वटा ब्याण्डहरुले प्रतिस्पर्धा गर्दैछन् ।
संगीत क्षेत्रमा क्रियाशील युवा तथा नवप्रतिभाहरुलाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘झापा रक स्टार’ को नयाँ संस्करण आयोजना गरिएको आज (बुधवार) बिर्तामोेडमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रतियोगितामा इलामको आवाज ब्याण्ड, चारआलीको यात्री ब्याण्ड, बिर्तामोडको बास क्लेफ ब्याण्ड, राग भर्स ब्याण्ड र धुलाबारीको जेनियम ब्याण्डले फिनालेमा प्रतिस्पर्धा गर्ने प्रतियोगिताकी कार्यक्रम निर्देशक सुनिता तामाङले बताइन् ।
विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको प्रतियोगिता अमृत स्टोर, बिर्तामोडको आयोजना तथा एनएसएस इमेन्टको व्यवस्थापनमा सम्पन्न हुँदै आएको इभेन्ट आयोजक अमृत पौडेलले जानकारी दिए ।
यस संस्करणका लागि गत वैशाख ५ देखि जेष्ठ १० सम्म आवेदन खुल्ला गरिएको थियो भने कार्यक्रममा कोशी प्रदेश भरिका विभिन्न स्थानचाट ब्यान्डहरुले सहभागिता जनाएका थिए । पहिलो चरणको डिजिटल अडिसनमा करिब १२ वटा ब्यान्ड सहभागी रहेको र नियम र प्रतिस्पर्धात्मक प्रस्तुतिका आधारमा उत्कृष्ट सात ब्यान्डहरुलाई फिजिकल अडिसन सहभागी गराइएको थियो ।
उत्कृष्ट सात ब्यान्डको प्रतिस्पर्धाबाट उत्कृष्ट टप ५ समुह छनोट गरिएको छ । फिजिकल अडिसनबाट छनोट भएका उत्कृष्ट पाँच बान्डले प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
ग्रान्ड फिनालेमा प्रथम हुने बान्डले नगद पुरस्कार ५० हजारसहित लिभिङस्टोलन भि वान’एम गितार, पोटफोलियो सुट र अफिसियल म्युजिक भिडियो, दोस्रो हुनेले नगद ३० हजार पोटफोलियो सुट तथा एभरेष्ट गितार र तेस्रो हुनेले नगद २० हजार, पोटफोलियो सुट र साउण्ड स्केप गितार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको ग्राण्ड फिनाले अग्रसेन भवन बिर्तामोडमा साँझ ५ बजेदेखि हुने बताइएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका बिषयमा टिभिएसका तर्फबाट हरि न्यौपाने र इभेन्टका पिआरओ प्रकाश संग्रौलाले जानकारी गराएका थिए ।


















