बिर्तामोड । 

झापा बिर्तामोड–४ को गोमेन्द्र बहुमुखी क्याम्पसको आयोजना तथा लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको सह–आयोजनामा  ‘ट्र्यास म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ । गोमेन्द्र बहुमुखी क्याम्पसले  आज (शुक्रवार) आफ्ना विद्यार्थीहरूबीच ‘ट्र्यास म्याराथन’ प्रतियोगिता आयोजना गरेको हो । 

जस अन्तरगत प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा फोहोर संकलन गर्न प्रोत्साहित गरिएको थियो। मुक्तिचोक तथा आसपासका क्षेत्रबाट करिब पाँच टन फोहोर संकलन गरिएको क्याम्पसले जनाएको छ।

कार्यक्रममा करिब ४०० विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय साइमन बस्नेतले गरेका थिए भने क्याम्पसकी उप–प्राचार्य तथा लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु खनालको विशेष सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेताहरूको घोषणा आगामी सोमबार गरिने गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख तथा प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी वा समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। 

साथै, विद्यार्थीहरूबीच आयोजित टिकटक प्रतियोगितााका विजेता मध्येबाट छनोट गरिने एक उत्कृष्ट सहभागीलाई नगद ५ हजारको विशेष  ‘सरप्राइज’ पुरस्कारसमेत प्रदान गरिने क्याम्पसले जनाएको छ। फोहोर संकलन गरि नगरपालिकाको फोहोर ब्यवस्थापन शाखालाई जिम्मा लगाइएको बताइएको छ।