झापा।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सल्लाहकारमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाई चयन भएका छन् । चम्लागाईसंगै संघले संस्थाको विधानअनुसार ५१ सदस्यीय सल्लाहकार टिम चयन गरेको छ। संघका महासचिव डा। चिरन्जीबी खड्काद्वारा बिहीबार जारी आन्तरिक परिपत्रअनुसार सल्लाहकारहरूको टुङ्गो लगाइएको हो।
यस नवगठित सल्लाहकार समितिमा प्रवासमा रहेका नेपालीहरूका बीच लोकप्रिय एवं प्रतिष्ठित व्यक्तित्वहरूलाई समेटिएको छ। संघको सल्लाहकार समितिमा चयन भएका अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष चम्लागाई झापाको बाह्रदशी स्थायी बासिन्दा हुन् ।
चम्लागाई कतारका स्थापित एवं अत्यन्तै प्रतिष्ठित व्यवसायी हुनुहुन्छ। लामो समयदेखि कतारलाई कर्मथलो बनाएर व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय चम्लागाईको नियुक्तिलाई एनआरएनए वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। अन्तर्राष्ट्रिय झापाली समाजको नेतृत्व गर्दै आएका उनको अनुभव र योगदानले एनआरएनएको गरिमा र सांगठनिक सक्षमतालाई थप उचाइ दिने विश्वास लिइएको छ।
यसैगरी, उक्त ५१ सदस्यीय शक्तिशाली सल्लाहकार समितिमा अन्तर्राष्ट्रिय झापाली समाजका तदर्थ समिति संयोजक तथा हालका संरक्षक भवानी ओली समेत चयन भएका छन् ।
लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाउँदै आएका ओली प्रवासमा रहेका नेपालीहरूका हकहित र सामाजिक अभियानमा अग्र मोर्चामा रहेर काम गर्ने प्रखर व्यक्तित्व हुन् ।
एनआरएनएको विधानमा रहेको व्यवस्थाबमोजिम संघको बृहत्तर हित, नीति निर्माण र विश्वभर छरिएका नेपालीहरूको भावनालाई समेट्ने उद्देश्यले यस सल्लाहकार समितिको चयन गरिएको संघले जनाएको छ। नवनियुक्त सल्लाहकार टिमले संघलाई सही मार्गनिर्देशन गर्ने र आगामी कार्यकाललाई सफल बनाउन ठोस योगदान दिने अपेक्षा गरिएको छ।


















