झापा ।
वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ६ सय नेपाली कामदारको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८२/८३ मा मृतकका परिवारलाई दिएको क्षतिपूर्तिका आधारमा उक्त संख्या सार्वजनिक गरेको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार ६ सयमध्ये १ हजार ३ सय २३ जनाका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकेको र बाँकीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १ हजार ५ सय ८३ जना नेपालीले ज्यान गुमाएका थिए । गत आर्थिक वर्षको मृत्यु तथ्यांकले मासिक औसतमा करिब ५४ र दैनिक औसत ५ जनाले ज्यान गुमाएको देखाएको छ । प्रति मृतक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने बोर्डले गत वर्ष मृतकका परिवारलाई १ अर्ब ३२ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको बताएको छ ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेमध्ये करिब १२ प्रतिशत नेपाली कामदारले आत्महत्याको बाटो रोजेको देखिएको छ । बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १ हजार २ सय ७३ जनामध्ये १ सय ४७ नेपाली कामदारले आत्महत्या गरेका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाउनेमध्ये मृत्युको पहिलो कारण विभिन्न प्रकारका रोगको संक्रमण, दोस्रो कारण प्राकृतिक मृत्यु र तेस्रो कारण आत्महत्या देखिने गरेको छ । विगत चार वर्षमा आत्महत्याका कारण ४ सय ६६ जना नेपालीको ज्यान गएको छ । बोर्डले वीर अस्पतालसँगको सहकार्यमा श्रम गन्तव्यमा डिप्रेसन र तनावको सामना गरिरहेका नेपाली युवायुवतीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ ।


















