बिर्तामोड । 

दोस्रो स्थापना दिवसका अवसर पारेर वैदेशिक रोजगार व्यवसायी संघ झापाले रक्तदान कार्यक्रम गरेकोे छ । झापाको बिर्तामोडमा आज (शुक्रवार) भएको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको हो । 

संघका प्रथम उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष राजन सिलवालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत संघकी महिला उपाध्यक्ष सरिता बरालले गरेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड–१ का वडा सदस्य टेकबहादुर अधिकारीले संघले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै रक्तदान कार्यक्रमको सफताको शुभकामना गरेका थिए । 

कार्यक्रममा सम्बोधन गर्दै महासंघ झापाकाा अध्यक्ष गिरीले संघले यसअघि पनि बिभिन्न बिपत ब्यवस्थापनमा गरेको साथ र सहयोगको प्रशंसा गरेका थिए । उनले म्यानपावर व्यवसायीहरुकोे छाता संघले झापाका प्रत्येक विपत वाढी पहिरोेसँगै गत भदौं २३ र २४ गते देशब्यापी रुपमा भएको तोडफोड र आगजनीमा समेत ठूलो सहयोग गरेको बताए । 

हाल सरकारको कानुनी अड्चन र कतिपय व्यहारिक नीतिका कारणले वैदेशिक रोजगारको क्षेत्रमा निक्कै चुनौती वढेकोे बताउँदै अध्यक्ष गिरीले अहिले वैदेशिक रोजगार व्यवसाय पनि संकटमा परेको बताए । उनले वैदेशिक रोजगारका क्षेत्रमा पनि केही कमीकमजोरी भएको र यस्ता कमीकमजोरीलाई संघले सुधान गर्नुपर्नेमा पनि जोड दिए । 

संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाले गरेको थियो भने सह प्रायोजक सीपी होटल बिर्तामोडको रहेको थियो । रक्तदान गरौं जीवन बचाऔं,  तपाईको एक थोपा रगतले कसैको जीवनमा नयाँ आशा दिन सक्छ, आउनुहोस्, रक्तदान र मानवताको सेवा गरौं भन्ने मुल नाराका साथ बिर्तामोडमा गरिएको रक्तदान कार्यक्रममा म्यानपावर व्यवसायीसहित बिभिन्न ब्यक्तित्वहरुले रक्तदान गरेको संघका उपाध्यक्ष प्रकाश राईले जानकारी दिए । कार्यक्रमको सञ्चालन संघका महासचिव नीरकुमार खत्री (निरन) ले गरेका थिए ।