मेचीनगर ।
प्याब्सन मेचीनगरले निजी विद्यालयहरुले शिक्षा नियमावली र प्रचलित कानुनअनुसार नै शुल्क व्यवस्थापन गर्दै आएको स्पष्ट पार्दै तथ्यभन्दा बाहिरका भ्रमपूर्ण टिप्पणीले शिक्षा क्षेत्रलाई अनावश्यक रुपमा प्रभावित पार्न नहुने जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले मेचीनगरमा प्याब्सनमा आबद्ध ३८ वटा निजी विद्यालयलाई शिक्षा नियमावलीको दायराभित्र रहेर सञ्चालन हुन निरन्तर सचेत गराइएको बताए । कुनै विद्यालयले नियमविपरीत शुल्क वृद्धि गरेको प्रमाणित भए कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन आफूहरु तयार रहेको उनको भनाइ थियो ।
अध्यक्ष क्षेत्रीका अनुसार शिक्षा नियमावलीले प्रत्येक वर्ष अधिकतम् १० प्रतिशतसम्म शुल्क समायोजन गर्न सकिने व्यवस्था गरेको छ र सोही कानुनी प्रावधानअनुसार विद्यालयहरूले शुल्क व्यवस्थापन गरिरहेका छन् । उनले शुल्क सम्बन्धी विषयलाई अनावश्यक रुपमा विवादित बनाउने प्रयासले शिक्षा क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको उल्लेख गरे ।
उनले मेचीनगरका निजी विद्यालयहरुले अभिभावकको आर्थिक अवस्था र सामाजिक यथार्थलाई समेत ध्यानमा राखेर शुल्क समायोजन गर्दै आएको बताए । गरिब तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई अध्ययन खर्चमा सहुलियत प्रदान गर्नुका साथै व्यवहारिक कठिनाइमा रहेका अभिभावकलाई आवश्यक सहयोग गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिएको उनले बताए ।
वैशाख महिनाको शुल्क नलिन नेपाल सरकारबाट निर्देशन आएको भन्ने विषयमा बोल्दै क्षेत्रीले प्याब्सन वा नगरपालिकाको शिक्षा शाखामा त्यस्तो कुनै आधिकारिक परिपत्र प्राप्त नभएको जानकारी दिए । आधिकारिक निर्णय वा निर्देशन आए निजी विद्यालयहरुले त्यसको पूर्ण पालना गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
पत्रकार सम्मेलनमा प्याब्सन झापा जिल्ला समितिका सल्लाहकार हिम्मत क्षेत्री, जिल्ला सदस्य रमेश बराल, शिक्षासेवी हरि अधिकारी, नगर शिक्षा समिति सदस्य केशर तिम्सिना लगायतले पनि शिक्षा नियमावलीअनुसार नै विद्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै शुल्क सम्बन्धी कुनै गुनासो भए सम्बन्धित निकायमा जानकारी गराउन अभिभावकलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव विमल पौडेलले गरेका थिए ।


















