बिर्तामोड ।
सातौं झापा गोल्डकपको सहप्रायोजक ‘अन्तर्राष्ट्रिय झापाली समाज’ले आफ्नो प्रतिबद्धता बमोजिमको रकम हस्तान्तरण गरेको छ। समाजले गोल्डकप आयोजक समितिलाई प्रतिवद्धता जनाए अनुसारको रु। ४ लाख रुपैयाँको चेक आज बिर्तामोडस्थित होटल होलिडे होममा आयोजित एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरेको हो।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरिलाई उक्त रकमको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणकै अवसरमा दुई संस्थाबीच आगामी दिनमा आपसी सहकार्यलाई थप परिष्कृत र बलियो बनाउँदै लैजाने विषयमा महत्त्वपूर्ण र सकारात्मक छलफल समेत भएको छ।
उक्त गरिमामय समारोहमा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र बहादुर पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गोल्डकपका सदस्यद्वय मदन खड्का र केशव भट्टराईको उपस्थिति रहेको थियो। त्यसैगरी अन्तर्राष्ट्रिय झापाली समाजको नेपाल समन्वय समितिका सचिव सुदर्शन रोका, सदस्यहरू विजय मगर र बीरु दर्नाल लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
मोफसलकै सर्वाधिक लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’को सातौं संस्करण गत २०८२ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म भव्यताका साथ सञ्चालन भएको थियो। सोही प्रतियोगितालाई सफल बनाउन समाजले सहप्रायोजकको रूपमा वित्तीय तथा नैतिक सहयोग पुर्याउँदै आएको छ।


















