झापा । 

मलेसियामा नेपाली दूतावासको पहलमा रोजगारदाता कम्पनीहरूले नेपाली श्रमिकलाई पासपोर्ट फिर्ता दिने काम सुरु गरेका छन् । मलेसियामा विदेशी कामदारको राहदानी कम्पनीले कब्जामा राख्न नपाउने कानुनी व्यवस्था भएपनि अधिकांश नेपाली श्रमिकको राहदानी रोजगारदाताले राख्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले रोजगारदाता कम्पनीहरूलाई नेपाली कामदारको पासपोर्ट उनीहरूलाई नै फिर्ता दिन आग्रह गर्दै इमेल पठाएपछि रोजगारदाताले राहदानी फिर्ता गर्न थालेका हुन् । मलेसियामा राहदानी साथमा नलिई हिँडडुल गर्ने विदेशी कामदारलाई त्यहाँको अध्यागमन विभागले १४ दिनसम्म हिरासतमा लिन पाउने कानुनी व्यवस्था छ । अध्यागमनले छापा मार्दा साथमा राहदानी नहुनेहरू लामो समय हिरासतमा रहँदा भगौडामा समेत पर्ने गरेका छन् ।

सोही समस्या समाधानका लागि नेपाली दूतावासले इमेलमार्फत नेपाली श्रमिकको गुनासो आउना साथ सम्बन्धित कम्पनीमा इमेल फरवार्ड गरेर राहदानी फिर्ताको पहल गर्ने गरेको जनाएको छ । दूतावासको पहलपछि राहदानी साथमा राख्न नपाउने समस्या समाधान भइरहेको छ । राहदानी समस्या समाधान भएपछि सेक्युरिटी गार्डको काममा गएका कामदारहरूले दूतावासले न्यूनतम तलब दिलाउने आफ्नो मागप्रति पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् ।