शनिश्चरे ।  

झापा अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ। रगतको सेवा शुल्क वापत प्रति पिन्ट १ हजार १ सय रुपैयाँ नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई त्रैमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

सेवा लिन बिरामीले चिकित्सकले सिफारिस गरेको रगत मागको पुर्जी, अर्जुनधाराको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात तथा रगत बुझिलिएको रसिद पेश गर्नुपर्नेछ। एउटै व्यक्तिलाई बढीमा पाँच पोकासम्म रगतको शुल्क नगरपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ। सम्झौताअनुसार आवश्यक समूहको रगत तत्काल उपलब्ध नभए नेपाल रेडक्रस सोसाइटीले बिरामीलाई रगत उपलब्ध गराउन आवश्यक समन्वय र सहजीकरणसमेत गर्नेछ। सेवा सम्बन्धी प्रतिवेदन नियमित रूपमा नगरपालिकालाई उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।

सम्झौतामा अर्जुनधारा नगरपालिकाका तर्फबाट नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रमुख प्रशासकीय अधिकृत हिमराज सिँहाई तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका तर्फबाट शाखा अधिकृत हरि शरण खड्का र सभापति लोकराज ढकालले हस्ताक्षर गरेका छन्।