झापा ।
वाम एकताका बिषयमा सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन् । यस अघि भएको वाम एकतामा उत्साहित भएका पार्टीका नेता तथा कार्यकर्ताले पनि यस सहमतिलाई सत्ताको खेलका लागि भएको सहमति भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको एक सातापछि वाम सहकार्यको तीनबुँदे सहमति जुटेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी सत्ता सहकार्यको निर्णय सार्वजनिक गरेका छन् । सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले लिनेछ ।
दुई दल मिल्दा पनि सरकार बनाउन संख्या नपुग्ने गण्डकी र मधेशबारे भने अन्य दलसँग छलफल गर्ने सहमति भएको छ । तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दा साक्षी बसेका नेता वर्षमान पुन यो सहमतिले प्रदेशहरूमा रहेको ‘डेडलक’ फुकाउने काम भएको बताउँछन् ।
स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्न ओली र प्रचण्ड केही समय अघि नै तयार भइसकेका थिए । तर, कांग्रेसलाई पनि समेटेर लैजाने गरी छलफल गर्ने प्रस्ताव प्रचण्डले राख्दा समय लागेको हो ।


















