झापा । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सामूहिक निर्णयलाई कमजोर पार्ने कुनैपनि गतिविधि नगर्न र एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण व्यवसायीलाई आह्वान गरेको छ । सेवाशुल्क परिमार्जन गरी समग्र वैदेशिक रोजगार क्षेत्र सुधारका लागि आम व्यवसायी भेलाबाट म्यान्डेट लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको भन्दै संघको निर्णयलाई पूर्ण रूपमा आत्मसात् गर्दै नीतिगत सुधार नभएसम्म पूर्वस्वीकृति, अन्तिम स्वीकृति, श्रमिक पठाउने प्रक्रिया तथा उडानलगायतका सम्पूर्ण प्रक्रिया रोक्न संघले आग्रह गरेको छ ।

संघले गत शुक्रबार मध्यरातिदेखि कुनैपनि प्रकारका श्रम स्वीकृति नलिन सदस्य संस्थाहरूलाई आग्रह गरेको थियो । संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ र महासचिव हिराबहादुर डाँगी (हरि)ले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै संघको निर्देशन निःशर्त पालना गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा संघले भनेको छ, ‘संघको निर्णयविपरीत प्रक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने अप्रत्याशित अवस्था वा दायित्वको जिम्मेवारी सम्बन्धित व्यवसायी वा संस्था स्वयंले लिनुपर्ने व्यहोरा समेत स्मरण गराउँदछौं ।’

संघले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, मर्यादित, पारदर्शी, उत्तरदायी र व्यवस्थित पेसाका रूपमा स्थापित गर्ने उद्देश्यका साथ लामो समयदेखि नीतिगत सुधारका लागि बहस, पैरवी र सरोकारवाला पक्षसँग संवाद गर्दै आएको छ । महासचिव डाँगीले श्रम स्वीकृति र वैदेशिक रोजगारका अन्य प्रक्रियाबारे अनुगमनका लागि संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलको संयोजकत्वमा घटक, जातीय तथा क्षेत्रीय संघसंस्थाका १०१ जना व्यवसायी राखेर अनुगमन समिति गठन गरिएको र आइतबारदेखि प्रभावकारी रूपमा अनुगमन गरिने बताए ।

संघको आन्दोलनलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल वैदेशिक रोजगार अभिमुखीरण व्यवसायी महासंघ, वैदेशिक रोजगार व्यवसायी संघ रूपन्देही, जनकपुर र कास्की, वैदेशिक रोजगार इथिकल ओरियन्टेसन राष्ट्रिय संघ, राष्ट्रिय अभिमुखीकरण तालिम संघ र वैदेशिक रोजगार अभिमुखीकरण तालिम महासंघलगायत विभिन्न संस्थाले  ऐक्यबद्धता जनाएको तृतीय उपाध्यक्ष पौडेलले बताए ।

तृतीय उपाध्यक्ष पौडेलले अनुगमनका लागि सिंगो रिङरोडलाई समेट्ने गरी १० वटा उपसमिति गठन गरेको जानकारी दिए । संघमा आबद्ध घटक संस्थाहरूले यसअघि नै सामूहिक ऐक्यबद्धता जनाइसकेका छन् ।