झापा ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नयाँ नेतृत्व आज चयन हुने भएको छ । मञ्चको शुक्रबार साधारणसभा तथा छैटौं अधिवेशन हुँदैछ ।
नेकपा एमाले निकट मञ्चले साधारणसभा तथा अधिवेशनमार्फत वैदेशिक रोजगार व्यवसाय क्षेत्रका वर्तमान चुनौती, व्यवसायीका साझा समस्या, श्रमिकको हित, व्यवसायको मर्यादा तथा आगामी दिनमा व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रम एवं आगामी कार्यदिशा तय गर्ने जनाएको छ ।
निर्वाचनका लागि पार्टीले मञ्चमा उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेर हाल पार्टीको वैदेशिक रोजगार फाँटमा काम गरिरहेकी सुवर्ण श्रेष्ठलाई खटाएको छ । साधारणसभा तथा अधिवेशनमा भाग लिन बिहीबार साँझसम्म ३२० व्यवसायी संस्थाबाट प्रतिनिधि आएको र रुजु गरेर अन्तिम नामावली प्रकाशन गर्ने काम भइरहेको मञ्चका पूर्वउपाध्यक्ष एवं प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी लिएका मुक्तिनाथ अधिकारीले जानकारी दिए ।
मञ्चको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको बताइएको छ । मञ्चमा प्रायः सहमतिमा नेतृत्व चयन भएको इतिहास रहेको भन्दै संस्थापक अध्यक्ष सरोज पोखरेलसहित पूर्वअध्यक्षहरूले गरेको प्रयास बिहीबार रातिसम्म सफल हुन नसकेको बताइएको छ ।
मञ्चको अध्यक्षमा वर्तमान अध्यक्ष जनक रावल, पूर्वउपाध्यक्ष मुक्तिनाथ अधिकारी, महासचिव मिलन कट्टेल, उपाध्यक्ष दलवीर भण्डारी, उपाध्यक्ष सरिता घले, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वतृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल वैभवलगायतले अडान राखेको बताइएको छ । अध्यक्षका आकांक्षी सबैले आफ्ना तर्फका बलिया तर्कहरू पूर्वअध्यक्षहरूको छलफलमा राखिरहेका बताइएको छ ।मञ्चमा अध्यक्षसहित ३ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ३ जना सचिव गरी ९ पदाधिकारी रहने व्यवस्था रहेको छ ।


















