झापा । 

 कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकका मागपत्र प्रमाणीकरणमा कुनै ढिलाइ नगर्ने प्रतिबद्धता जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघबाट कुवेतको रोजगारी मामिला हेर्ने जिम्मेवारी पाएकी कार्यसमिति सदस्य भावना गजुरेलले आइतबार कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र श्रम सहचारी जनार्दन गौतमसँग कुवेतको रोजगारीमा रहेका समस्या र समाधानबारे नेपाली दूतावास कुवेतमा छलफल गरेकी थिइन् ।

छलफलपछि कुरा गर्दै कार्यसमिति सदस्य गजुरेलले वैदेशिक रोजगार व्यवसायीले निरन्तर उठाउँदै आएको मागपत्र प्रमाणीकरणमा ढिलाइ, श्रमिकले समयमै तलब नपाउने समस्या, बिचौलियाको चलखेलजस्ता समस्याबारे राजदूत लम्साल र श्रम सहचारी गौतमको ध्यानाकर्षण गराएको बताइन् । जवाफमा राजदूत लम्साल र सहचारी गौतमले प्रमाणित कागजातसहित निवेदन दिएको १० दिनभित्र मागपत्र प्रमाणीकरण गरेको र भविष्यमा पनि प्रमाणित कागजातसहित निवेदन दिएको अवस्थामा सकेसम्म छिटो मागपत्र प्रमाणीकरण गर्ने बताएका छन् ।

नेपाली दूतावासले समस्या झेलिरहेका कुवेती कम्पनीमा नेपाली श्रमिक नपठाउन र समस्या देखिए तत्कालै कम्पनी भ्रमण गरेर समस्याको समाधान गर्न आग्रह गर्दै समस्याग्रस्त कम्पनीको मागपत्र प्रमाणीकरण नगरिने स्पष्ट पारेको पनि कार्यसमिति सदस्य गजुरेलले बताइन् । आफूसँगको भेटमा राजदूत लम्सालले खुलेर नेपाली व्यवसायी, श्रमिक तथा कुवेती रोजगारदाताका कमजोरी राखेर समस्याको समाधान पनि दिएकोले भविष्यमा कुवेतको मागपत्र प्रमाणीकरणमा ढिलाइ नहुने विश्वास लिएको पनि बताइन् ।