झापा । 

प्राकृतिक प्रकोपले स्थानीय जीविकोपार्जन र पूर्वाधारलाई नष्ट गर्दा जोखिमयुक्त वैदेशिक रोजगारी र मानव तस्करी बढ्ने गरेको छ । आन्तरिक रोजगारीको अभावले जीविकोपार्जनमा समस्या हुँदा युवायुवतीलाई शोषण र जबरजस्ती श्रमको चक्रमा पु¥याउने नेपाल र अन्तर्राष्ट्रिय अनुभवले देखाएका छन् ।

बाढी, खडेरी र भूकम्पले बालीनाली, पशुधन र साना व्यवसायहरूलाई नष्ट गर्दा अधिकांश परिवारले आम्दानीको स्थायी स्रोत गुमाउने र बाँच्नका लागि कुनै पनि काम स्वीकार गर्न बाध्य हुने गरेका छन् । आपराधिक सञ्जालहरूले प्रकोप क्षेत्रहरूलाई लक्षित गर्ने, आकर्षक जागिरको झुटो वाचा गर्ने र श्रमस्थलमा पुर्‍याएर राहदानी तथा अन्य कागजातहरू जफत गरी श्रमिकहरूलाई कुनै सम्झौता वा भुक्तानी नगरी काममा लगाउने गरिएका शोषणका अभ्यास देखिने गरेका छन् । उनीहरूलाई ज्यालाबिना असुरक्षित अवस्थामा काम गर्न बाध्य पारिन्छ ।

अन्तर्राष्ट्रिय क्याथोलिक माइग्रेसन आयोगको अध्ययनअनुसार प्राकृतिक प्रकोपपछि जीविकोपार्जनको अवसर खोज्दै मानिसहरू आन्तरिक तथा सीमापार बसाइँ सर्ने प्रवृत्ति रहेको छ । बालीनाली, पशुधन र स्थानीय व्यवसायबाट जीवन सहज नभएपछि वैदेशिक रोजगारी बाध्यताको रोजाइ हुने गरेको छ । दक्षिण एसिया वा पूर्वी अफ्रिकामा यस्ता प्रवृत्तिहरू बढी देखिएको अध्ययनले देखाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले गरेको अर्को अध्ययनले जलवायुुसँग सम्बन्धित प्राकृतिक प्रकोपले बसाइँसराइसँगै जबरजस्ती श्रमलाई बाध्य बनाउने गरेको छ । जबरजस्ती श्रम मात्रै नभएर मानव बेचबिखन बढ्ने खतरा पनि उत्तिकै रहने गरेको छ । इन्टरनेसनल डिस्प्लेसमेन्ट मोनिटरिङ सेन्टरका अनुसार सन् २०२३ मा ४ करोड ६९ लाख नयाँ आन्तरिक विस्थापनहरूमध्ये ५६ प्रतिशत व्यक्ति प्राकृतिक प्रकोपका कारण विस्थापित भएका थिए ।

विपत्तिका कारण श्रम आप्रवासनमा आप्रवासी कामदार र उनीहरूका परिवार सीमित कानुनी सुरक्षा, कमजोर सामाजिक सुरक्षा र न्यूनतम तलबको वैदेशिक रोजगारीमा निर्भर हुने गरेका छन् । नेपालमा २०७२ को भूकम्पले लगभग ८० लाख मानिसलाई असर गरेको थियो । त्यसबाट १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान छ । त्यसपछि भूकम्प प्रभावित जिल्लाबाट उल्लेख्य संख्यामा नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका थिए ।

उक्त भूकम्पका कारण पुरुषहरूमात्र नभई महिलाहरूलाई पनि वैदेशिक रोजगारीमा जान बाध्य बनाएको थियो भने अभिभावकविहीन बालबालिका सबैभन्दा बढी जोखिममा परेका थिए । मानव अंग तस्करी, प्रतिबन्धित घरेलु कामदार र सर्कसका लागि महिला र बालबालिकाको व्यापक तस्करी भएको थियो । त्यसका लागि जनचेतनामूलक कार्यक्रम व्यापक बनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।