बिर्तामोड । 

वैदेशिक रोजगार व्यवसायी संघ झापाले गत भदौं १० गते रसुवाको भोटेकोशी–त्रिशुलीमा आएको बिनाशकारी वाढीपिडीतहरुलाई घोषणा गरेको आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ  । 

संघले गत भदौ १५ गते झापाका म्यानपावर व्यवसायीहरुले स्वेछिक रुपमा बाढीपिडीतको राहतका लागि संकलन गरेको  ४ लाख ५१ हजार संघ अन्तरगत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेको थियो । उक्त घोषित रकम आज (बिहीवार) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघका अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए । 

अध्यक्ष पन्धाकले भिषण बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ताको पनि खोजी भइरहेकोेले चाँडो पत्ता लगाउन पनि  सरकारसमक्ष जोड दिए ।   

संघका अध्यक्ष धनबहादुर पन्धाकले बाढी प्रभावितहरूलाई राहत र पुनःस्थापनाका लागि थोरै भएपनि सहजता होस् भन्ने उद्धेश्यले सहयोग गरेको बताए ।  अध्यक्ष पन्धाकले रकम सहयोग गर्ने सम्पूर्ण झापाका म्यानपावर व्यवसायीलाई धन्यवाद दिदै विपत्तीमा झापाका म्यानपावर व्यवसायीहरु एक भएर साथ र सहयोग गरेको प्रति पनि धन्यवादसमेत दिए । 

संघले गत वर्षको बाढी प्रभावित इलाम तथा झापाका मानिसहरूलाई समेत सहयोग गर्नुका साथै जेनजी आन्दोलनबाट ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको पुनःनिर्माणमा समेत  सहयोग गरेको थियो ।