झापा ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चहलपहल बढेसँगै झापाको प्रदेशसभा क्षेत्र नं. २ ‘क’ मा नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यही क्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले प्रदेश सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्।
आगामी असोज १० गते हुने क्षेत्रीय अधिवेशनमा न्यौपानेले सभापति पदमा सशक्त दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। व्यवसायिक क्षेत्रको नेतृत्वमा स्थापित हुँदै आएका न्यौपानेको कांग्रेस संगठनमा प्रवेशले प्रदेशसभा क्षेत्र नं. २ ‘क’ को अधिवेशनलाई थप चासोको विषय बनाएको छ।
प्रदेशसभा क्षेत्र नं. २ ‘क’ मा बिर्तामोड नगरपालिकाका नौ र कनकाई नगरपालिकाका दुई गरी ११ वटा वडा छन्। यही क्षेत्रीय संरचनाबाट सभापति चयन हुनेछ। त्यसैले आगामी अधिवेशनलाई स्थानीय तहदेखि प्रदेशसभा निर्वाचनसम्म कांग्रेसको संगठनात्मक आधार बलियो बनाउने नेतृत्व चयनका रूपमा समेत हेरिएको छ। न्यौपाने कांग्रेसको राजनीतिमा नयाँ अनुहार भने होइनन्। उनी झापा क्षेत्र नं. २ को नेपाल तरुण दलका सभापतिसमेत हुन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका न्यौपाने पछिल्लो समय व्यवसायिक नेतृत्वमार्फत पनि सार्वजनिक रूपमा स्थापित छन्।
हाल बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष रहेका न्यौपानेले संघमा एकैपटक शीर्ष नेतृत्व सम्हालेका होइनन्। २०६७ देखि २०७० सम्म कार्यसमिति सदस्य, २०७४ देखि २०७७ सम्म उद्योग उपाध्यक्ष र २०७८ देखि २०८० सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि उनी २०८० फागुन १४ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।
संघको नेतृत्वमा रहँदा व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको उनी निकटहरूको दाबी छ। व्यवसायी सदस्यका लागि राहत कोष स्थापना, बजार तथा टोलअनुसार उपसमिति गठन, डुबानका बेला पानी निकासमा पहललगायतका कामले उनको नेतृत्वलाई व्यवसायिक वृत्तमा स्थापित गर्न सहयोग पुगेको बताइन्छ।
कर, राजस्व, घरबहाल, विद्युत्, सडक, पार्किङ, बजार व्यवस्थापन तथा सुरक्षा लगायतका विषयमा व्यवसायीका तर्फबाट सम्बन्धित निकायसँग छलफल र समन्वय गर्दै आएका न्यौपाने सामाजिक गतिविधिमा समेत सक्रिय छन्। सरल र मिजासिलो स्वभावका न्यौपाने आम नागरिक तथा सर्वसाधारणका समस्या बुझ्न सक्ने नेताका रूपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन्। पार्टी संगठनलाई चलायमान बनाउने, कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने र स्थानीय तहमा कांग्रेसको संगठन बलियो बनाउने एजेन्डासहित उनी क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिन लागेको बताइएको छ।
व्यवसायिक नेतृत्वबाट राजनीतिक संगठनको नेतृत्वतर्फ न्यौपानेको सक्रियतालाई कांग्रेसभित्र पनि चासोका साथ हेरिएको छ। विशेषगरी बिर्तामोडको व्यावसायिक वृत्तमा बनाएको सम्बन्ध र संगठन सञ्चालनको अनुभवलाई उनले पार्टी संगठनमा उपयोग गर्न खोजेको देखिन्छ। न्यौपानेको नाम बिर्तामोड नगरपालिकाको आगामी स्थानीय निर्वाचनमा मेयर पदका सम्भावित उम्मेदवारका रूपमा समेत चर्चामा आउने गरेको छ। प्रदेशसभा क्षेत्रीय सभापतिमा उम्मेदवारीको तयारीलाई कतिपयले उनको राजनीतिक यात्रालाई थप फराकिलो बनाउने कदमका रूपमा समेत हेरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ–नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। प्रदेशसभा क्षेत्र नं. २ ‘क’ मा ११ वटा वडा रहेकाले क्षेत्रीय सभापतिको निर्वाचनमा वडा तहको संगठन र प्रतिनिधिहरूको समर्थन निर्णायक हुनेछ। त्यसैले न्यौपानेको उम्मेदवारीसँगै अब यस क्षेत्रमा कांग्रेसको आन्तरिक समीकरण कतातिर जान्छ भन्ने विषयले पनि महत्व पाउने देखिन्छ।
व्यवसायिक क्षेत्रमा नेतृत्वको अनुभव बोकेर पार्टी संगठनको नेतृत्वमा आउने तयारी गरेका न्यौपानेका लागि आगामी असोज १० गतेको अधिवेशन राजनीतिक परीक्षणको महत्वपूर्ण चरण बन्नेछ।


















