झापा । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेको छ।

आजदिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। 

आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा/हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडी नै गर्न, तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन  तथा पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन,  यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन साथै पूर्व तयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आग्रह गरिएको छ ।