बिर्तामोड ।
झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपमा दर्शकका लागि रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ । मैदानको पूर्वतर्फ जडान गरिएको सो प्यारापिट दुई हजार दर्शक क्षमताको रहेको छ । नेपालमा यस्तो प्रविधिको प्यारापिट पहिलोपटक झापा महिला गोल्डकपमा प्रयोग गर्न लागिएको झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको प्यारापिट ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरेर तयार पारिएको हो । आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले यस्तो संरचना ठुला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि उपयोगी मानिन्छ ।
प्यारापिटका सञ्चालक सुमन भण्डारीका अनुसार प्यारापिट छ तहको हुनेछ । संरचनामा प्रयोग हुने ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म भार धान्न सक्ने उनको दाबी छ । यसमा दर्शकले बसेर खेल हेर्नुका साथै उभिएर हुटिङ गर्दै खेलाडीलाई उत्साह प्रदान गर्न सक्नेछन् ।
उनका अनुसार प्यारापिटको इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ¥याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको छ । प्रतियोगितापछि फाइनल खेलसमेत सम्पन्न भएपछि संरचना फुकालेर अन्यत्र लैजाने उनले बताए । यसबाट स्थायी संरचना निर्माण नगरी आवश्यकताअनुसार दर्शकदीर्घा तयार गर्न सकिनेछ ।
दुधे रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट छ भने पूर्वतर्फ रिङलक प्रविधिको अस्थायी प्यारापिट निर्माण गरिएको छ । उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिट निर्माण गर्ने तयारी छ । प्रतियोगिताका लागि रङ्गशालाको दर्शक क्षमता विस्तारसँगै दर्शक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।
गोल्डकपमा यसपटक टिकट व्यवस्थापन, दर्शक प्रवेश तथा निकास, पार्किङ र सुरक्षा व्यवस्थामा कडाइ गरिने अध्यक्ष थोप्राले जानकारी दिए । विगतका प्रतियोगितामा देखिएका कमजोरी सच्याउँदै यस वर्ष व्यवस्थापनमा नयाँ रणनीति अपनाउन लागिएको उनको भनाइ छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछ । नेपाल, भारत, भुटान लगायतका देशका आठ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल मंसिर १२ गते हुने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।
प्रतिक्रिया 0