झापा ।
वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति भएपछि मात्रै हवाई टिकट लिनुपर्ने जनाएको छ । ‘अत्यावश्यक प्रस्थान गर्ने व्यक्तिको श्रम स्वीकृतिमा सहजीकरण गर्ने सम्बन्धमा’ अत्यन्त जरुरी सूचना जारी गर्दै विभागले यस्तो जनाएको हो । वैदेशिक रोजगारीबाट छुट्टीमा आएका व्यक्तिहरू विदेश जाने क्रममा हवाई टिकट लिइसकेको अवस्थामा श्रम स्वीकृति नभएका कारण उडान छुट्ने गरेको भन्दै विभागले त्यस्तो अवस्था आउन नदिन श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिन भनेको छ ।
हवाई टिकट लिइसकेका व्यक्तिहरूले उडान हुनुभन्दा तीन दिन अगाडि नै तोकिएका कागजातसहित अनलाइन माध्यमबाट श्रम स्वीकृतिका लागि आवेदन गर्नुपर्ने विभागको भनाइ छ । नेपाल आउने अन्तर्राष्ट्रिय उडान थोरै भएका कारण हवाई भाडा महँगो छ । महँगो भाडा तिर्नुपर्ने अवस्थाबाट बच्न छुट्टीमा घर आएका श्रमिकहरूले पहिले हवाई टिकट सुनिश्चित गर्ने र त्यसपछि पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने गरेका छन् ।
तर, विभागले श्रमिकको समस्याभन्दा आफ्नै सुविधाअनुसारको कार्यप्रणाली अपनाउँदा श्रमिकहरू हतारहतारमा टिकट खरिद गर्नुपर्ने र महँगो भाडा तिर्नुपर्ने अवस्था आएको गुनासो पटकपटक दोहोरिँदै आएको छ । तर, विभागले गुनासो सुनेर व्यावहारिक निर्णय लिने शैली अख्तियार गर्न नचाहेको कतिपयको टिप्पणी छ ।
प्रतिक्रिया 0