झापा ।
सुनसरी कोशी वैदेशिक रोजगार हकहित संघले इटहरीमा ६५ वटा भन्दा वढी म्यानपावर कम्पनीका शाखा कार्यालय नविकरण भएको दावी गरेको छ । वैदेशिक रोजगार विभागको अनुगमन टोलीले केहीदिन अघि इटहरी उपमहानगर क्षेत्रमा इजाजत प्राप्त म्यानपावर कम्पनीका १६ वटा शाखा भनेर केही मिडियाहरुमा गलत प्रचार भएको भन्दै संघले ६५ वढी म्यानपावरका शाखा कार्यालयको नविकरण भएको जनाएको हो । जसमा नविकरण भएका ५७ वटा शाखा कार्यालय संघमा आवद्ध रहेका छन् ।
संघका सह–सचिव दीपक खतिवडाले केहि मिडियाहरुमा विभागको अनुगमन टोलीले दिएको इटहरीका म्यानपावर शाखाको नविकरण संख्या गलत भएको बताए । उनका अनुसार इटहरीमा करिव ७३ वढी म्यानपावरका शाखा छन् । जसमा ६५ वढी म्यानपावरका शाखा कार्यालय नविकरण भएका सह–सचिव खतिवडाको भनाई छ ।
अनुगमनका क्रममा कार्यालयका इन्जिनियर दुर्गा आचार्यले केही म्यानपावर कम्पनीका शाखाहरूले अख्तियारी नाघेर कारोबार गर्ने, तोकिएभन्दा बढी रकम लिने र लामो समयसम्म सेवाग्राहीको राहदानी कार्यालयमै राखेर हैरानी दिने जस्ता गुनासा आउने गरेकाले अनुगमन गरिएको बताएका थिए ।
अनुगमनका क्रममा केही कम्पनीमा शंकास्पद कागजात फेला परेपछि कार्यालयले ती कागजात नियन्त्रणमा लिएको थियो । सम्बन्धित म्यानपावर कम्पनीका शाखा प्रमुखलाई तीन दिनभित्र कागजातसहित श्रम तथा रोजगार कार्यालयमा बयानका लागि उपस्थित हुन पत्राचार गरिएको उनले बताएका थिए । प्राप्त कागजात र शाखा कार्यालय प्रमुखको बयानपछि थप प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको थियो ।
साइन बोर्डका आधारमा अवैध रूपमा सञ्चालन भइरहेका केही कार्यालयमा अनुगमन टोली नपुग्दै ताला लगाएर सञ्चालक भागेको बताइएको थियो । अनुगमनको सूचना चुहिएका कारण धेरैजसो कार्यालय बन्द गरेर सञ्चालक भागेको हुन सक्ने आंकलन अनुगमन टोलीको थियो । इटहरीका धरान लाइन, गोरखा गल्ली, लन्डन होटल र टेंग्रा पुलपारि म्यानपावर कम्पनीका वैध र अवैध कार्यालयहरू रहेका छन् । निरीक्षणका क्रममा कतिपयले घर भाडासमेत नदिएर दुःख दिएको गुनासो घरधनीहरूबाट आएको र उनीहरूले अवैधानिक रूपमा शाखा सञ्चालन हुन नदिन स्थानीय प्रहरीले कडाइ गर्नुपर्ने मागसमेत गरेका अनुगमनका क्रममा बताइएको थियो ।
प्रतिक्रिया 0