झापा ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन दबाव आएको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा सङ्गठनको छवि र जनविश्वासमा असर पर्न सक्ने भन्दै अपुष्ट समाचारको पछि नलाग्न आग्रह गरेको छ ।
प्रहरीले अपुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ । साथै प्रहरी सङ्गठनलाई कमजोर बनाउने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि अनुसन्धान तथा कानूनी कारबाही अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ । पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै सूचनाको सत्यता सुनिश्चित गर्न प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यानाकर्षण गराएको छ ।
नेपाल प्रहरीले आफू सार्वजनिक सुरक्षा, शान्ति–अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध सुरक्षा सङ्गठन भएको उल्लेख गरेको छ । सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 0