झापा ।
आज यमपञ्चक अर्थात तिहारको अन्तिम दिन आज चेलिबेटीहरुले आ–आफ्ना दाजुभाईलाई टिका र माला लगाएर मनाइँदैछ । आज नेपालमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
स्थान विशेषका कारण विदेशमा भने टीकाको साइत फरक पर्न सक्दछ। टीका लगाइ माग्ने दाजुभाइ पश्चिम फर्कनुपर्दछ भने लगाइदिने दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्दछ। टीकाको दिन दिदीबहिनी नहुनेहरूले रानीपोखरीबिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका र आशीर्वाद लिने प्रचलन रहेको छ। यो मन्दिर आज बिहानदेखि साँझसम्म मात्र खुल्ने गर्दछ।
आज भाइटीका वा यमद्वितीया पनि भनिन्छ। यस दिनलाई अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा लिइने गरिन्छ । दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा यमुनाले यमराजलाई आफ्नो घरमा निम्तो दिएकी थिइन्। यमुनाको निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बहिनीका घरमा बसी रमाइलो गर्दै भाइटीका लगाएका हुनाले यस समयलाई यमपञ्चक भनिएको हो।
आफ्नी बहिनीको सत्कारबाट निकै प्रसन्न भई सूर्यका छोरा यमराजले ‘के वर माग्छ्यौ, माग’ भन्दा यमुनाले ‘प्रत्येक वर्ष यसै समयमा मलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति सर्वदा वृद्धि होस्’ भनी वरदान मागिन्। यमराजले पनि बहिनी यमुनालाई ‘तथास्तु’ भनी वरदान दिए। यही पौराणिक कथनअनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारमा भाइटीका लगाउने परम्परा चलेको हो।
यसैकारण आजको दिन दाजुभाइले आफ्नो घरमा भोजन गर्नु हुँदैन। दिदीबहिनीका घरमा गई स्नेहपूर्वक पुष्टिवर्धक भोजन गर्नुपर्दछ। सुवर्ण, अलङ्कार, वस्त्र एवं अन्नद्वारा पूजा गरी सबै दिदीबहिनीको सत्कार गर्नुपर्दछ। आफ्नै सहोदर दिदीबहिनी नभएमा जसलाई दिदीबहिनीझैँ व्यवहार गरिन्छ, तिनैको पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
प्रतिक्रिया 0