झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पाइए हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत प्राप्त संस्थाहरूले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउन नपाउने व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा रहेको स्मरण गराउँदै विभागले ऐनको प्रावधानविपरीत व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउने कार्य गरेको पाइए हदैसम्मको कारबाही हुने जनाएको हो ।

वैदेशिक रोजगारीका लागि युरोपलगायतका देशमा विभागबाट इजाजतप्राप्त संस्थामार्फत जाँदा उक्त संस्थाले सम्बन्धित देशमा कामदार पठाउन पूर्वस्वीकृति लिए वा नलिएको यकिन गर्न पनि विभागले आग्रह गरेको छ । साथै, व्यक्तिगत श्रम स्वीकृति गराई कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले विदेश पठाइदिन्छु भन्दै वा यस्तो कार्य गर्छु, गराउँछु भनी आर्थिक कारोबार गर्न खोजेमा विभागलाई सूचित गर्नसमेत विभागले आग्रह गरेको छ ।

वैदेशिक रोजगार ऐनको दफा ५२ मा व्यक्तिगत रूपमा कामदार पठाएको अवस्थामा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना, इजाजतपत्र रद्द वा दुवै सजाय हुने व्यवस्था छ ।

हाल युरोपेली मुलुकमा ठुलो संख्यामा नेपाली पुगेका छन् । उनीहरूलाई म्यानपावर कम्पनीहरूले पहल गरी पठाएको विभागको आशंका छ । त्यसरी आशंका हुनुको पछाडि तथ्यांकमा एक जना पनि पठाएको विवरण नहुने, तर जीवनशैली भने अस्वाभाविक रूपमा विलासी देखिने गरेकालाई प्रमुख कारण मानिएको छ । तर, यस विषयमा कसैले अनुसन्धान भने गरेको छैन ।