बिर्तामोड  । 

कोरोना महामारीले भइरहेको लकडाउनको फाइदा उठाउँदै बिर्तामोडमा चोरीका घटनामा बृद्धि भएको छ ।  दिउँसै र रातको समयमा चोरीका घटना बढेका हुन् । शनिबार बिर्तामोड ४ स्थित एक घरबाट दिउँसै साइकल चोरी भएको छ । सोही घरबाट छिमेकीको घरमा तानिएको बिजुलीको तारसमेत चोरले काटेर लगेको बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिपेन्द्र राउतले बताए । उनले सोही घरको छिमेकी ओली थरका व्यक्तिको पनि बन्दै गरेको घरबाट वाइरिङ गरेको तारसमेत चोरिएको जानकारी दिए । 

त्यसैगरी केही दिनअघि त्यही ठाउँमा रड चोरी गरी लादै गर्दा स्थानीयले देखेपछि चोरहरु भागेको उनले बताए । केही दिनयता कोठाबाट मोबाइल चोरी हुने घटना पनि बढेका छन् । चोरीका घटना बढेपछि बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुलाई सतर्क रहन अपिल गरेको छ । संघले एक सूचना जारी गरी रातको समयमा पसलहरुमा ताला फुटाएर सामग्रीहरु चोरी भइरहेको गुनासो आइरहेको भन्दै त्यसतर्फ सजग गराएको हो ।

साथै कुनै पनि बिलविजक बिनाका चोरीका सामान खरिद नगर्न कवाडी तथा अन्य व्यवसायीहरुलाई आग्रह गर्दै चोरीका सामग्री खरिदबिक्री गरेको पाइएमा कार्वाही गर्ने संघले चेतावनी दिएको छ । बिर्तामोडमा चोरीका घटना फाट्टफुट्ट बढेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले लकडाउनकै कारण घटना भएको

कुरा अस्वीकार गरे ।‘ पहिला पनि चोरीका घटना हुने गरेको थियो ’उनले भने ,‘अहिले पनि फाट्टफुट्ट भइरहेको हो ।’ चोरी लगायतका अपराध नियन्त्रणका लागि प्रहरीले रातको समयमा नियमित गस्ती गरिरहेको उनले जानकारी दिए । राजमार्गमा रहेका सीसीटिभीलाई छलेर बिर्तामोडमा अपराध हुने गरेको आचार्यले बताए । गल्ली, अँध्यारो कोठा र घरभित्र अपराध हुने गरेको उनको भनाई छ । असारको दोस्रो साता बिर्तामोडमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न एक गिरोह पक्राउ परेको थियो ।


विभिन्न कम्पनीका ग्यास सिलिन्डर र टेलिभिजन चोरी गर्ने कार्यमा संलग्न चारजना र चोरीका सामान किन्ने चारजनालाई प्रहरीले पक्राउ गरेको थियो । चोरी गरेको आरोपमा पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं ७ बस्ने २४ वर्षिय जग्गु भन्ने दिपेश खवास, बिर्तामोड वडा नं ३ वस्ने २८ वर्षिय टेकन भण्डारी, सोही वडाका १८ वर्षिय विष्णु भण्डारी र एक जना नाबालक रहेका छन् ।

आजको प्रतिदिन दैनिबाट साभार