झापा । 

पुरै जिल्लामा लगातार निषेधाज्ञा जारी राख्दा विरोध भएपछि झापामा अब स्मार्ट लकडाउन लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आइतबार राति सकिएपछि स्मार्ट लकडाउनको निर्णय गरिने भएको हो ।

 जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बस्ने बैठकले त्यसबारे निर्णय गर्न लागेको डीसीसीएमसीका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

‘जहाँ संक्रमण बढी छ, त्यहाँ मात्र लकडाउन गर्न सक्ने अवधारणा अनुसार स्मार्ट लकडाउन लगाउन खोजिएको हो । सो प्रस्ताव सीसीएमसीले यसअघि गरिसकेको छ । वैज्ञानिक र व्यावहारिक हुनेगरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको तिमिल्सिनाले स्पष्ट पारे । कोरोना संक्रमणको जोखिमको मात्रालाई रेड जोन ,

ग्रीन जोन र एल्लो जोन निर्धारण गरिने उनले बताए । संक्रमणको उच्च जोखिम भएको ठाउँलाई रेड जोन घोषणा गरी सिल गरिने र कम संक्रमण भएका ठाउँलाई ग्रीन जोन र एल्लो जोन घोषणा गरी खुकुलो बनाउँदै लगिने उनले जानकारी

दिए । स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ । यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि आइपुगेको सीसीएमसीको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको छ ।चिकित्सकसहित सीसीएमसीका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारीसहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होल्डिङ सेन्टरसहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको हो ।

प्रतिदिनबाट साभार