बिर्तामोड । 

 झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ ।   साहित्यकार, गीतकार, कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । 

साहित्य कला संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।  साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडले पहिलो कार्यक्रमको रुपमा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन  कार्यक्रम गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई ,समिक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरु शिवकुमार पौडेल, पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार, हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 त्यस्तै साहित्यकार तथा प्राध्यापक देवी संग्रौला, तुलसीप्रसाद भट्टराई, टीका चापागाईं , अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मात्रिकाप्रसाद संग्रौलाले गीत प्रस्तुत गरेका थिए ।  सोही कार्यक्रममा उदियमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाई नामक कविता संग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समिक्षा  साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्य, साहित्य चौतारी झापाका संस्थापक संरक्षक  देवीभक्त श्रेष्ठ, गायीका निर्जला प्रसाईं, जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, मोडल जनक खड्का, सीता संग्रौलालगायतको आतिथ्य रहेको थियो ।  

 प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।