जलथल । 

पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिवारी ४ ले आफ्नो वन समुहका अतिबिपन्न ४७ घर परिवारका उपभोक्तालाई फाइवर सिरक वितरण गरेको छ ।

समूहका अध्यक्ष चिरञ्जिवी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । वडा नम्बर–४ का वडा सदस्य केदारप्रसाद उप्रेती, फरेस्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराई, प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्रविक्रम विमली, फरेस्ट एक्सन नेपालका देबिका अधिकारी  लगायतको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि लिङदेनले दिनदिनै चिसो बढेको साथै कोभिडको कारण आर्थिक अवस्था प्राय सबैको खस्केको वेला यो समयमा सवैले आफ्नो क्षेत्रवाट सकेको सहयोग गर्नुपर्ने धारणा राखे ।  समूहले विपन्न वर्ग लक्षित गरेर कार्य गरेकोमा उनले खुसी व्यक्त गरे । वनको सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक उत्तरदायित्व पूरा गरेको उनको भनाई थियो । वडासदस्य उप्रेतीले जाडोकोे समयमा केही मात्रामा भएपनि जीवनयापन सहज होस् भनेर यो कार्य गरेकोमा समूहलाई धन्यवाद दिए ।

प्रत्येक बर्ष विपन्न लक्षित विभिन्न कार्यक्रम गर्दै आएकोमा यसपटक साधरणसभावाट पारित गरेर कार्य योजनामा समपन्नता स्तरीकरण गर्दा अति विपन्न वर्गमा परेका घरधुरी मध्ये ४७ घरधुरी उपभोक्तालाई सिरक दिएको वन समूहका अध्यक्ष पौडेलले बताए । मनिता गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन समूहकी सचिव भावना मैनालीले गरेकी थिइन् ।