बिर्तामोड । 

झापा बिर्तामोडको बीएण्डसी अस्पतालले ‘कोरोना संक्रमित बिरामीसँग दैनिक उठाउँछ पिपिईको चार हजार पाँच सय’ रुपैयाँ भन्ने समाचार भ्रामक भएको अस्पतालले जनाएको छ । 

अस्पतालले बुधवार अस्पताल परिसरभित्रै पत्रकार भेटघाटको आयोजना गरेर उक्त समाचारको खण्डन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालले राम्रो तथा उद्धार कार्य गरेको समाचार पत्रकारले नलेख्ने तर, गर्दै नगरेको बिषयलाई उठाएर बिभिन्न सञ्चार माध्यममा गलत समाचार आउने गरेको गुनासो गरे । ‘शिर्षक एउटा समाचार अर्कै छ’ प्रसाईले भने । उनले अस्पतालको समाचार लेख्दा कम्तिमा अस्पताल प्रशासनलाई पनि एक पटक सोधेको भए यर्थाथ कुरा आउने बताए । उनले सञ्चार माध्यमहरुले खेदेकै कारण धेरै अस्पतालहरु बन्द भएको आरोप समेत लगाए । 

अस्पतालमा भर्ना हुन आउने हरेक बिरामीका लागि कोरोना परीक्षण अनिवार्य गराएको अस्पतालले एन्टिजेन र पिसिआर दुवै विधिबाट परीक्षण गर्ने गरेको र ती दुवै परीक्षणमा सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको भन्ने कुरा भ्रामक भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताए । सरकारले तोकेको एकहजार रुपैयाँ भन्दावढि शुल्क नलिएको समेत गिरीको भनाई छ । 

अस्पतालले पिपिई लगाउन कोरोना संक्रमित बिरामी भएकाले लगाएर आउनु उनीहरुकै स्वास्थ्य सुरक्षाका लागि कर्मचारीले भनेको हुन सक्ने गिरीले बताए । 

अस्पतालमा ७÷८ दिन बिरामी कुरेर बसेका पथ्रीका निर्मला लुइटेल र इन्दिरा भट्टराईले पिपिई अनिवार्य नभएको बताए । ‘निर्मलाले भनिन् ‘हामी दिदीबहिनी ७÷८ दिनदेखि आमा अजुदाकुमारी ढकाललको उपचारका लागि अस्पतालमै छौं’ निर्मलाले भनिन् ‘तर, हामीलाई पिपिई लगाउनु परेको छैन ।’