झापा।
झापाको मेचीनगर–६ को बर्मेली टोलको जुत्ता उद्योगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रण गर्न भारतीय दमकलको समेत सहायता लिइएको थियो ।
आगलागी नियन्त्रणमा लिन भारतको नक्सलबारी र मतिगढाका २ सहित विर्तामोड, दमक, भद्रपुर, लेटाङसहित झापा, मोरङस्थित विभिन्न पालिकाका १९ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा आएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।
व्यवसायी श्याम खेतान, विजय डालमियासहितको एसएस फुटवेयर जुत्ता फ्याक्ट्रीमा आगलागी भएको थियो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, स्थानीयबासी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा फोर्स परिचालन गरिएको थियो । उद्योगाम दिउँसो १२ बजेतिरदेखि आगलागी शुरु भएको जनाइएको छ ।
उद्योगमा अचानक सल्किएको आगो बढ्दै गएसँगै आगोलाई फैलन नदिन जेसीवीको समेत प्रयोग गरिएको भएपनि आगोलाई नियन्त्रणमा लिन ५ घण्टा लागेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
आगलागीबाट कारखानामा उत्पादित जुत्ता, जुत्ता बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कारखाना सञ्चालनमा रहेको भौतिक संरचना समेतको क्षति भएको छ । आगलागीबाट भएको क्षतिको वास्तविक विवरण भने आइनसकेको बताइएको छ ।


















