काँकरभिट्टा ।
ठूलो परिमाणमा विस्फोटक पदार्थ नेपाल भित्राउन खोज्ने व्यक्तिलाई झापा प्रहरीले बुधबार सार्वजनिक गरेको छ । माघ २१ गते पक्राउ परेका ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुधबार पत्रकार सम्मेलन गरेर झापा प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेको समाचार बाहिरिएपछि प्रहरीले त्यसपछि सार्वजनिक गरेको हो । विस्फोटक पदार्थ नेपाल भित्राउन खोज्ने चिरण रोका मगर पक्राउ परेको समाचार बाहिरिएको थियो ।
स्थायी घर म्याग्दी भएका २८ वर्षीय चिरणलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी काँकरभिट्टाको संयुक्त टोलीले माघ २१ गते नै म्याग्दीबाट पक्राउ गरेको थियो । रोका म्याग्दीको रुमस्थित मालिका गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् ।
उनले ढुंगा उत्खनन्का लागि विस्फोटक पदार्थ ल्याउने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । रोकाले यसअघि तीनपटक विस्फोटक पदार्थ नेपाल भित्राएको प्रहरीले जनाएको छ । उनले २०७२, २०७४ र २०७५ सालमा नेपोलाइट र डिटोनेटर नेपाल भित्राएका थिए । यसअघि उनी भारतको दार्जिलिङ र काँकरभिट्टाबाट पक्राउ परेर धरौटीमा छुटेका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
रोका भारत मेघालयको सिलोङको कोइलाखानीमा काम गर्ने मजदुर हुन् । उनले नेपोलाइट र डेटोनेटर प्रतिसेट भारु ३५ रुपैयाँमा खरिद गरेर ल्याएको प्रहरीलाई बयान दिएका छन् । पश्चिम नेपालका ढुंगाखानी ठेकेदारलाई प्रतिसेट तीन हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
माघ १८ गते मेचीनगर नगरपालिका–७ गैरीगाउँमा बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरीले ८० थान डेटोनेटर र ९१ थान नेपोलाइट बरामद गरेको थियो । सो विस्फोटक पदार्थ बरामद भएपछि अज्ञात भूमिगत समूहले नेपाल भित्राएको चर्चा चलेको थियो । रोका पक्राउ परेपछि सो आशंका असत्य सावित भएको झापा प्रहरीको तर्क छ ।
उनले विस्फोटक पदार्थ ल्याएको झोलामा भारतीय सहर सिलिगुडीसम्म आएको टिकट भेटिएको थियो । साथै, म्याग्दी गएको टिकट र फोन नम्बर पनि उल्लेख थियो । त्यसैको आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी गाउँ पुगेको सूचना पाएपछि त्यहाँको स्थानीय प्रहरीको पनि सहयोग लिएर पक्राउ गरेर झापा ल्याएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका रोकाले ढुंगाखानीमा प्रयोग गर्नका लागि विस्फोटक पदार्थ लगेको बयान दिएका छन् । अधिकृतहरुका अनुसार म्याग्दी र बाग्लुङमा घरमा छाउनका लागि तयार गर्ने ढुंगाखानी छन् । ‘गाउँपालिकाको अनुमति लिएर उत्खनन् गर्ने खानीहरु रहेछन्, त्यसकै लागि उनले अवैध रुपमा विस्फोटक पदार्थ लगेका रहेछन्,’ ती अधिकृत भन्छन्, ‘नेपालमा पनि नेपाली सेनाले यसका लागि आवश्यक विस्फोटक पदार्थ उत्पादन गर्छ, तर पर्याप्त नपाइने हुँदा भारतबाट अवैध रुपमा ल्याइने गरिएको छ ।’
झापामा ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहले दुईवटा शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित बनाइरहेका बेला मेचीनगरमा ८० वटा डेटोरनेटर र ‘नेपोलाइट एक्सप्लोसिभ’ लेखिएको विस्फोटक पदार्थ ९१ वटा बरामद भएको थियो । त्यही आधारमा बरामद विष्फोटक पदार्थ पनि भूमिगत समूहले ल्याएको हुनसक्ने आशंका गरिएको थियो ।
तर, प्रहरी अनुसन्धानले बरामद विस्फोटक पदार्थ भारतको कोइलाखानीमा काम गर्ने मजदुर रोकाले ल्याएको भेटिएको छ । ‘केही कमाई हुन्छ भनेर ल्याएको देखिएको छ, उनले यसअघि पनि चारपटक यसैगरी विस्फोटक पदार्थ ल्याइसकेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘पक्राउ पर्नसक्ने डरले स्थानीयलाई सामान कटाउन लगाउँदा रहेछन् ।’
रोकाले एकजना स्थानीयलाई एक हजार रुपैयाँ दिएर सिटी रिक्साको ब्याट्री भन्दै विस्फोटक पदार्थ कटाइदिन भनेका थिए । तर, स्थानीयलाई ‘ब्याट्री त्यति हलुका नहुनुपर्ने’ लागेपछि चेन खोलेर हेर्दा तार देखिएको थियो । त्यसपछि नजिकै रहेको सशस्त्र प्रहरी बललाई खबर गरेका थिए ।


















