धनकुटा । 

धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो ।

लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर नेपालले बताए । बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइतीघर भएकी मन्त्री झाक्री महालक्ष्मीकी बुहारी पनि हुन् ।

उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाधिएकी छन् । त्यस्तै, बजेटका लागि पहल गर्न सहयोग गरेको भन्दै मेयर नेपालले सामाजिक सञ्जालमै स्टाटस लेखेर धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, मन्त्री झाक्रीका अभिभावक प्रेमराज पुरी, श्रीमान पशुपति पुरी र युवराज गिरीप्रति आभार प्रकट गरेका छन् ।

शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउँने पत्र पठाएपछि धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको छ । महालक्ष्मी नगरपालिकाका मेयरसहित प्रतिनिधिहरुसँग केही दिनभित्रै छलफल कार्यक्रम राखेर योजना निर्माण गरिने आयोजना प्रमुख रञ्जनकुमार दासले बताए ।

यो बजेट मुख्यगरी सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, हाट बजारको संरचना निर्माण जस्ता काममा खर्च गरिने बताइएको छ ।