अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिले साहित्यकार विष्णुकुमार भट्टराईलाई सम्मान तथा पुरस्कृत गरेको छ । 

समितिले मंगलबार अर्जनधारा–८ स्थित शनिश्चरेमा अर्जुनधारा सामुदायिक पुस्तकालय  उद्घाटन तथा अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८ वितरण समारोहको आयोजना गरी साहित्यकार भट्टराई र उनकी श्रीमती रुकमणि भट्टराईलार्ई सम्मान गरेको हो । 

साहित्यकार भट्टराईलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिकी संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पुण्य खरेलको प्रमुख आतिथ्य रहेको थियो । 

dsahitya

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत समितिकी संयोजक सुवेदीले गरेको कार्यक्रममा प्रमुख अतिथि खरेलले भवनको उद्घाटन तथा पुरस्कृत ब्यक्तिलाई सम्मान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि खरेल, अर्जुनधारा नगरपालिकाकी प्रशासकीय अधिकृत गीताकुमारी राई, पुरस्कृत साहित्यकार भट्टराईलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा गीत, कवितालगायत साँस्कृतिक कार्यक्रमसमेत भएको थियो । त्यस्तै समितिका सदस्य तथा साहित्यकार कृष्ण बरालले सम्मानीत ब्यक्तिको चर्चा तथा सम्मानपत्र बाचन गरेका थिए । 

कार्यक्रममा अर्जुनधारा–५ का वडाअध्यक्ष ध्यानबहादुर भारती, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल, नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष अर्जुन मेचे, गीतकार हस्त परियारलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रमकाबीच नेवाः देव दबुलाई लाखेंको मकुण्डो र पञ्चेवाजासमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कुमार भट्टराईले गरेका थिए ।