बिर्तामोड । 

झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई प्रबिधिमैत्री बनाउने उदेश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । 

संस्थाले २७ औं बार्षिकोत्सवको अवसर पारेर सोमबारदेखि केन्द्रिय कार्यालय र धुलाबारी सेवा केन्द्रबाट एटीएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

एटीएम सेवाको उद्घाटन प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री सरावगीले सरकारको तीन खम्बे नीति अनुसार सहकारीलाई कृषिमा जोड्न र विदेशिनु युवालाई रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । आफ् सहकारी मन्त्री भएपनि अनविज्ञ रहेको बताए । 

‘म सहकारीको विषयमा त्यति धेरै जानकार छुइन’ मन्त्री सरावगीले भने ‘तर, सहकारी जान्ने कर्मचारी भएकाले केही सहज भएको छ ।’  सोही कार्यक्रमकाबीच माधब बराइलीको परिवारलाई ५ लाख रुपैयाँ राहत प्रदान गरिएको थियो । त्यस्तै रामचोकको नौमति बाजा समुहलाई लोक संस्कृति बाजा र ६ जना शैक्षिक बचतकर्ता बिद्यार्थीलाई शैक्षिक सामाग्री पुस्तक प्रदान गरिएको थियो । 

२०५२ चैत्र २१ गते स्थापना भएको संस्थाले गरिबी न्यूनिकरण, रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा, बिमा क्षेत्रमा, सामाजिक क्षेत्र तथा कृषि तथा पशुपालन क्षेत्रमा रचनात्मक कार्य गर्न सफल भएको छ । 

त्यसैगरी संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्दै सदस्य संरक्षण, कोरोना राहत कार्यक्रमलगायतका कार्य गर्दै जैविक विविधता तथा वाताबरण संरक्षणमासमेत योगदान गरेको छ । 

saaa

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले संस्थाको वस्तुस्थितिका बिषयमा जानकारी गराएका थिए ।  सदस्य संख्याका हिसावले देशकै ठूलो संस्थाको रुपमा परिचित सहारा नेपाल साकोसमा हाल एक लाख ६० हजार शेयर सदस्य पुर्याउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गरीले जानकारी दिएका छन् । उनका अनुसार संस्थाको शेयर पुँजी एकसय ६५ करोड कुल वासलात १५ अर्ब, ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको छ ।

संस्थाले ५ सय २६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जना, विदेशबाट फर्किएका तथा वेरोजगार ३ हजार ३ सय ८७ जना युवालाई अटो ऋण, साना तथा मझौला उद्योग मार्फत एकहजार २ सय जनामा उद्यम सिर्जना गरी ९ हजार ३० जनालाई विभिन्न व्यवसाय मार्फत स्वरोजगार बनाउन सफल भएको जनाइएको छ । 

हाल ११ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले ७९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको गिरीले जानकारी दिए । संस्थाले प्रत्येक सामाजिक कार्यमा अग्रपंक्तिमा रहेर कार्य गर्दै आएको छ । 

संस्थाका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली गरेका थिए । कार्यक्रममा संस्थाका संरक्षक नरनाथ गिरी, नेकपा एमाले झापा अध्यक्ष दीपक ओली, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

२७ औं बार्षिकोत्सवका अवसरमा संस्थाका अधिकांश सेवा केन्द्रहरुमा पनि बिबिध कार्यक्रम गरी बार्षिकोत्सब मनाईएको छ ।