बिर्तामोड । 

झापाको बिर्तामोडस्थित सैनिकमोडमा सञ्चालित १८ दिने आसामिज र वङ्गला भाषा प्रशिक्षण तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना, होटल ब्यवसायी संघ झापाको सहकार्य र बिर्तामोड नगरपालिकाको संरक्षणमा जेठ ११ देखि २९ गतेसम्म भएको तालिममा सहभागीहरुलाई शुक्रवार (आज) प्रमाणपत्र वितरण गरिएको हो । मेची आँखा अस्पतालमा आउने विरामीहरुसँग बोलचाल गर्न सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । 

तालिममा १५ जना होटल ब्यवसायीहरुको सहभागीता रहेको थियो भने तालिममा भाषाको सहजीकरण बिजय सेडाईले गरेको बताइएको छ । यन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बिर्तामोड वडा नं. ३ का वडासदस्य भाग्यमान लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा होटल व्यवसायी संघका सल्लाहकार देवीभक्त श्रेष्ठ र होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।