बिर्तामोड ।

साहित्य चौतारी झापाको २३ औं बार्षिकोत्सव तथा २०९ औं भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । साहित्य चौतारी झापाले सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी असार ३१ गते गरिने कार्यक्रमका वारेका जानकारी दिएको हो । 

झापाको बिर्तामोडमा रहेको चौतारीले साहित्य, संगीत, कला, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यावरण र समाजको संरक्षण, सम्बद्र्धन, बिकास र श्रीबृद्धि गर्ने उदेश्य राखेको साहित्य चौतारी झापाको स्थापना गरेको संरक्षक देवीभत्त, श्रेष्ठले बताए । संरक्षक श्रेष्ठका अनुसार स्व.मातापिता भीमबहादुर, पञ्चकुमारी श्रेष्ठ र स्व. धनमाया बिमलीको स्मृतिमा देबीभक्त र उर्मिला बिमली श्रेष्ठ संरक्षक रहने गरी भानु जयन्तीको अवसर पारेर २०५६ साल असार ३१ गते साहित्य चौतारीको स्थापना भएको हो । 

यस संस्थाले स्व. जे.बी. आले, स्व. स्वरसम्राट नारायण गोपाल, साहित्यकार डिकमान बिरही, श्रेष्ठ दम्पतीका मातापिता स्व. जगन्नाथ बिमली, स्व. फत्तेमान राजभण्डारीलगायतको सम्झना तथा स्मृतिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै पुरस्कारको समेत ब्यवस्था गरेको संरक्षक श्रेष्ठले जानकारी दिए । चौतारीले बालदिवसमा बाल प्रतिभादेखि दीर्घ सेवासम्मलाई प्रोत्साहन र सम्मान गर्दै निरन्तरता दिर्द आएको जनाइएको छ । त्यस्तै साहित्य, संगीत र कला बिधामा विविध कार्यक्रम गरी नव प्रतिभाको क्षमता प्रस्फुटन र सम्बद्र्धन गर्ने कार्यका साथै स्थापित प्रतिभालाई सम्मान समेत गर्दै आएको छ । 

आगामी असार ३१ गते ब्यापक उपस्थितिमा विविध कार्यक्रम गरिने, सिंहबाहिनी महिला समुहको नौमती बाजासहित बिर्तामोड बजार परिक्रममा गरिने र उक्त कार्यक्रमको प्रमुख अतिथि ख्याती प्राप्त लोक गायक तथा लोकदोहोरी गायक देवीप्रसाद गौतम रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको  थियो । 

त्यस्तै कार्यक्रममा गीतकार शिवशंकर थापा, साहित्यकार कोमल पोखरेल, संगीतकार जीवन अधिकारी, प्राज्ञ सुभद्रा भट्टराई अर्याल, पूर्व अध्यक्ष टंक काफ्लेलगायतको विशिष्ट आतिथ्य रहने जनाइएको छ । सोही कार्यक्रमकाबिच संगीतका प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान गरिने जनाइएको छ । 

 त्यसैगरी चौतारीले आगामी कार्यक्रम अन्तरगत रजत बर्ष समारोह भब्यताका साथ मनाउने, रजत महोत्सव स्मारिक तेस्रो भाग प्रकाशन गर्ने, झापा गोल्ड कप अन्तरगत ५ लाख रुपैयाँको अक्षयकोष कार्यान्वयन गर्ने र खेलकुद पुरस्कार थप्ने, आवश्यकता अनुसार विविध बिधामा सम्मान कार्यक्रम गर्दै जाने, मासिक सांगेतिक काब्य सभालाई निरन्तरता दिनेलगायत रहेका छन् । चौतारीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक दीपक रायमाझीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका स्वागत उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव खगेन्द्रा खुसीले गरेकी थिइन् ।