बिर्तामोड । 

साहित्य चौतारी झापाले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छनोट गरेको छ ।  मासिक सांगीतिक काव्यसभामार्फत चौतारीले बालप्रतिभा छनोट गरेको हो । यस पटकको मासिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित थियो । 

छनोट भएका बाल प्रतिभाबीच भदौ २९ गते प्रतिस्पर्धा हुने र उत्कृष्टलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘सिर्जनामा बालप्रतिभालाई प्रोत्साहित गर्दै लैजाने नीति अनुसार साहित्य चौतारीले उनीहरुबीच प्रतिस्पर्धा गराउन लागेको हो’, संरक्षक श्रेष्ठले भने ।

साहित्य चौतारीले हरेक सांगीतिक काव्यसभामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । यसपटक काव्यसभामार्फत कवितातर्फ गृष्मादेश प्रसाईं, अनुकुल निरौला, प्रजिता ढकाल र रिया राजवंशी छानिएका छन् । साहित्यकार लीला अनमोलले उनीहरुलाई छानेकी हुन् । 

गायनतर्फ १५ जना सहभागीमध्ये एञ्जेल गहतराज, अर्पण निरौला, आयुष्मा घिमिरे, दीया अधिकारी, बृन्दा दाहाल छानिएका छन् । गायनतर्फ गायक बलराम राजवंशी निर्णयक थिए । नृत्यतर्फ इतिशा मुखिया, श्रेया पौडेल, पृषा राई, रिया राजवंशी र कोभिडमणि ओली चयन भएका छन् । नृत्यतर्फ रिना तामाङ निर्णायक रहेकी थिइन् । 

  • राष्ट्रकवि घिमिरेमा समर्पित काव्यसभा

साहित्य चौतारीले मासिक साङ्गीतिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित गरेको छ । घिमिरेको दोस्रो स्मृति दिवसलाई साहित्य चौतारीले विशेष रुपमा मनाएको हो । संगीतकार हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य र कवि विरही अधिकारीको विशेष आतिथ्यमा भएको काव्यसभामा झापा, मोरङ र इलामका साहित्यकारको सहभागिता रहेको थियो । 

राष्ट्रकवि घिमिरे साहित्य चौतारी स्थापनाकालको पहिलो प्रमुख अतिथि थिए । घिमिरेको बाहुलीबाट उद्घाटन भएको साहित्य चौतारीले स्थापनाको २३ औँ वर्षमा राष्ट्रियस्तरका प्रतिभा जन्माइसकेको छ । ‘साहित्य चौतारीको श्रीवृद्धिमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय छ’, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘मासिक सांगीतिक काव्यसभा उहाँको स्मृतिमा समर्पित गरेका छौँ ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेको कृतित्व र व्यक्तित्वका वारेमा चौतारीका सल्लाहकार कृष्णप्रसाद पौडेलले प्रकाश पारेका थिए । गायकहरु युवराज पोर्तेल र खगिन्द्रा खुसीले माधवप्रसाद घिमिरेद्वारा लिखित मालती मङ्गले गीति नाटकबाट केही पङ्तिहरु गीतको रुपमा प्रस्तुत गरेका थिए । 

गायक चेतन चुडाल र सरगम तिवारीले घिमिरेद्वारा रचित ‘तिम्रो माया पैले हो कि मेरो माया पैले’ बोलको गीत गाएका थिए । कार्यक्रममा गायक चेतन चुडाललाई चौतारीको तर्फबाट ‘सांगीतिक प्रतिभा सम्मान’ प्रदान गरिएको थियो । गीत संगीतमा चुडालले दिएको योगदानको कदर गर्दै साहित्य चौतारीले उनलाई उक्त सम्मान प्रदान गरेको हो । 

कार्यक्रममा कवि लीला अनमोलको विशेष प्रस्तुति थियो । उनले पहिलो प्रस्तुतिका रुपमा छन्दमा लेखिएको ‘आमा’ शीर्षकको कविता वाचन गरेकी थिइन् । उनले ‘भावनामा म’, ‘देश भनेको को हो ?, ‘म अमृता विश्वकर्मा’ लगायतका कविता बाचन गरिन् । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विधाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए भने सचिव खगिन्द्रा खुसीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

  • होटल हिकोला हेरिटेजको वार्षिकोत्सव

कार्यक्रममा होटल हिकोला हेरिटेजको सातौँ वार्षिकोत्सव पनि मनाइएको छ । साहित्य चौतारीका संरक्षणद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमलीले जेठी छोरी मनिताको जन्मदिनको अवसर पारेर होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका थिए । कार्यक्रममा शुभेच्छुकले मनितालाई अविर माला लगाएर जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।