बिर्तामोड ।

 साहित्य चौतारी झापाले बाल दिवस पारेर उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गरेको छ । चौतारीले विभिन्न तीनवटा विधामा मासिक साङ्गीतिक काव्यसभामा उत्कृष्ट भएका प्रतिभालाई नगदसहित पुरस्कृत गरेको हो । 

अघिल्लो मासिक काव्यसभाबाट साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छानिएका थिए । बाल दिवसका अवसरमा चौतारीले उनीहरु बीच प्रतिस्पर्धा गराएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

साहित्य चौतारीकी सचिव खगिन्द्रा खुशीका अनुसार कवितातर्फ रिया राजवंशी प्रथम भएकी छन् । गायनतर्फ दिया अधिकारी र नृत्यतर्फ श्रेया पौडेलले प्रथम स्थान ओगटेका छन् । उत्कृष्ट बालप्रतिभालाई संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली, अध्यक्ष हस्त परियार लगायतले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा नृत्य निर्देशक बालकुमार कटुवालको विशेष प्रस्तुति रहेको थियो । साहित्य चौतारीले उत्कृष्ट बाल प्रतिभा रियाज रिजालको प्रमुख आतिथ्य र बालगायिका अनुजा कडरियाको विशेष आतिथ्यमा  कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रममा इलामेली जेठो, एलसी श्रेष्ठ, समीप खरेल निर्णायकको भूमिकामा थिए । कार्यक्रममा जीवन जगदीश धितालले पनि आफ्नो गायन पस्किए । 

साहित्य चौतारीले बुधवारको मासिक साङ्गीतिक काव्यसभा वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीमा समर्पित गरेको छ । गायन प्रतिभाका धनी फत्तेमानको नवौँ स्मृति दिवसलाई साहित्य चौतारीले उच्च महत्व दिँदै मासिक काव्यसभा उनैमा समर्पित गरेको हो । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलाई कार्यक्रममा सर्जक स्रष्टाले जन्मदिनको शुभकामना दिएका छन् ।