अर्जुनधारा । 

झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगितामा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वाटर फाइनल खेलमा रोयल कलब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको एक मात्रै गोल विना चेमजुङले गर्दै सेमी फाइनलमा प्रवेश गराएकी थिइन् । उनले खेलको ३१ औं मिनेटमा दमकका खेलाडीले डि–बक्स एरिया भित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयो गर्दै आफ्नो टिमका लागि एक मात्रै गोल गरेकी थिइन् । आजको खेलमा विन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद पुरस्कार १ हजार सहित ट्रफी हात पारिन् ।

अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतीक रंगशालामा भएको खेलमा झापाको रोयल क्लब दमकले समेत पेनाल्टीको अवसर पाएको थियो । तर गोल भने गर्न सकेन । 

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी) ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकप प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । आज मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ला फुटबलसंघ ताप्लेजुङबिच प्रतिस्पर्धा हुने छ ।