अर्जुनधारा । 

झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा धनकुटा महिला फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा बुधबार सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले आफुलाई अन्तिम चारमा सुरक्षीत गरेको हो । 

धनकुटालाई सहजै जित दिलाउन खेल सुरु भएको ४ मिनटमा अन्जना थुलुङ राईले पहिलो गोल गरिन् । त्यसपछि धनकुटाका लागि अन्जनाले नै खेलको १६ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । धनकुटाका लागि पहिलो हाफको २१ औं मिनेटमा रजिना मगरले तेस्रो गोल गरिन् । त्यस्तै टिमलाई ४–० गोलको अग्रता दिलाउन धनकुटाका लागि २५ औं मिनेटमा सन्ध्या रम्तेलले चौंथो गोल गरिन् । 

६० मिनेटको निर्धारीत समयमा पहिलो हाफमा ४ गोल गरेको धनकुटा महिला फुटबल क्लले दोस्रो हाफमा भने गोल थप्न सकेन । दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेको सुनसरी जिल्ला फुटबल संघले रक्षात्मक खेल खेल ेपनि गोल भने फर्काउनन सकेन । 

आजको खेलमा टिमको लागि २ गोल गर्ने धनकुटाकी अन्जना थुलुङ राई उत्कृष्ट खेलाडी घोषित भईन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् । 

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । खुदुनाबारी गोल्डकपको चौथो खेलमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।