अर्जुनधारा ।

 झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपमा जुनतारा महिला फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लब (सीवाईसी) ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलबाट बिहिबार गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । 

जुनतारालाई ४–१ गोलको फराकिलो अन्तरले जिताउन अनिता लम्जेलले ह्याट्रिक गरिन् । उनले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । अनिताले खेलको ५६ औं मिनटमा दोस्रो र ६३ औं मिनेटमा तेस्रो गोल गरिन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेकी अनिता उमन अफ दि म्याच घोषित भईन् । उनले ट्रफिसहित नगद एक हजार हात पारिन् । जुनताराका लागि थप एक गोल खेलको ४७ औं मिनेटमा लक्ष्मी श्रेष्ठले गरिन् । 

गाईघाट फुटबल क्लब उदयपुरले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न बाहेक खेलमा अन्य स्कोर गर्न सकेन । दोस्रो हाफमा डि बक्स एरियामा फल्ड भएपछि उदयपुरले पाएको पेनाल्टीलाई सदिवा भोलनले गोलमा परिणत गरिन् । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज (शुक्रबार) पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र धनकुटा महिला फुटबल संघबिच प्रतिस्पर्धा हुनेछ । 

गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।