अर्जुनधारा । 

अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको फाइनल खेल आइतवार (भोली) हुने भएको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा  आयोजक टोली जुनतारा महिला फुटबल क्लब र धनकुटा महिला फुटबल संघबिच हुने भएको हो । 

धनकुटाले फाइनलमा आयोजक टिम जुनताराको सामना गर्नेछ । क्वाटर फाइनलमा इलाम र सेमिफाइनलमा उदयपुर विरुद्ध ५–० र ४–१ गोल अन्तरले जित निकाल्दै जुनतारा फाइनलमा पुगेको थियो । धनकुटाले क्वाटर फाइनलमा सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

दोस्रो सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकप फाइनलमा प्रवेश गरेपछि आयोजक टोली जुनतारासँग फाइनलमा भिड्ने भएको हो । 

खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई कप्तान अन्जना थुलुङ राईले गोलमा परिणत गरिदिएपछि धनकुटाले फाइनलको यात्रा तय गरेको हो । मोरङले दोस्रो हाफको ३१ मिनेटमा धनकुटाकी खेलाडी मेनुका राईलाई डि बक्स एरियामा लडाएपछि धनकुटाले पेनाल्टीको अवसर पाएको थियो ।   निर्धारित ७० मिनेटको खेलमा दुवै टोलिले गोल गर्ने उत्कृष्ट अवसर पाएपनि सदुपयोग गर्न नसक्दा दोस्रो हाफको ३१ आंै मिनेटसम्म खेल बराबरीको अवस्थामा थियो । खेलमा धनकुटाकी रजिना मगर उमन अफ दि म्याच घोषित भइन् ।

विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाउने छ । प्रतियोगिताको मुख्य प्रवर्धक अर्जुनधारा नगरपालिका रहेको छ ।