• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्ध कानुनी सचेतना मूलक अभिमुखीकरण कार्यक्रम मनाइएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ  अभिमुखीकरण कार्यक्रम हल्दिबारीमा मनाइएको हो । लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियान सञ्चालनमा छ ।

लैंगिक हिंसा के हो ?, कसरी हिंसामा परिन्छ ? को को हिंसामा पर्छन् ? लगायतका विषयमा अधिवक्ता कविता बास्तोला जानकारी दिएकी थिइन् । उनले हिंसाबाट महिला पुरुष दुवै प्रताडित हुने र हिंसा कसैले कसैलाई गर्न नहुने साथै सहन पनि नहुने भन्दै हिंसाविरुद्ध सशक्त आवाज उठाउन सचेत गराएकी थिइन् ।

‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको प्रतिबद्धता, स्वास्थ्य प्रवद्धनमा  हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस समेत मनाइएको छ ।  कार्यक्रममा हल्दिबारी गाउँपालिका भित्रका सबै महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

ग्रामीण क्षेत्रमा रहेर गाउँ–गाउँ पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने स्वयम सेविकाहरूलाई दोसलासहित सम्मान गरिएको थियो ।सम्मानितहरूको प्रतिनिधित्व गर्दै स्वयंसेविका शारदा लिङदेनले सधै समाजको अग्र भागमा रहेर काम गर्ने स्वयम सेविकाहरूलाई पनि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने बताएकी थिइन् ।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्ष देवीबहादुर थापा, सन्तकुमार थापा, सुकलाल राजवंशी, कार्यपालिका सदस्यसहित स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा लगायतको  उपस्थिति रहेको थियो ।

अध्यक्ष लिङदेनले महिला स्वंयम सेविकाहरूले उठाएको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सदैव तयार रहेको बताए । अधिवक्ता बास्तोला र हल्दिबारी गाउँपालिका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।