झापा । 

किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि शुरु भएको छ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने परम्परा छ। पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गर्ने गर्छन् । 

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिन्छ ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने गरिन्छ ।  किराँत राईहरूले कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने  गरेका छन् । 

उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईहरूको घर–घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरुन् भन्ने कामनाका साथ साकेला चाड मनाउने चलन रहेको  किराँत समुदायका अगुवाहरुको भनाईछ । साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै एक–आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ ।  साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख, सुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ । साकेला उधौलीमा नेपाल सरकार, गृह मन्त्रालयले आज (बिहीबार) एक दिन सार्वजनिक बिदासमेत दिएको छ ।