बिर्तामोड । 

साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्यसभा गरेको छ । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारीले मूर्तिकार हिम्मत नेम्वाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको हो । 

बिर्तामोडको होटल हिकोलास्थित चौतारीको सभाहलमा आयोजित सांगीतिक काव्यसभामा द भ्वाइस अफ नेपालका प्रतिभावान् प्रतिस्पर्धी भूपेन्द्र रणपालले आफ्नो विशेष प्रस्तुति राखेका छन् । उनी सरगम संगीतालयका विद्यार्थी हुन् । 

कार्यक्रममा भुटानी विश्व साहित्य संगठन अमेरिकाका अध्यक्ष कर्ण गुरुङलाई सम्मान गरिएको छ । गुरुङ अमेरिकामा बसेर नेपाली भाषा, कला तथा साहित्यको विकास र प्रवद्र्धनमा सक्रिय रहेको साहित्य चौतारीका पूर्व सचिव दिलिप घिमिरेले बताए । 

कार्यक्रममा गायक निरज पोखरेल, गजलकार विवश बलिभद्र कोइराला, कुमारी चेम्जोङ लगायतले आफ्ना रचना प्रस्तुत गरेका छन् । साहित्य चौतारीले मासिक सांगीतिक काव्यसभामा गायतन प्रतिभाका धनी कुमार सुब्बा र लता मङगेस्करलाई पनि सम्झना गरेको छ ।

  • संरक्षकको बैबाहिक उत्सव

साहित्य चौतारी झापाले आयोजना गरेको मासिक सांगीतिक काव्यसभाका सहभागीले संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमलीको बैबाहिक उत्सवलाई भव्य बनाइदिएका छन् । कार्यक्रमका बीच सहभागीले उनीहरुलाई बधाई तथा शुभकामना दिएका हुन् । 

विवाह उत्सवको ३७ औँ वर्ष पूरा भएको अवसरमा संरक्षकद्वयलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि नेम्वाङले साहित्य, संगीत र कलाको क्षेत्रमा दिँदै आएको योगदान आफैँमा रचनात्मक भएको बताए । 

अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले श्रेष्ठ दम्पत्तिलाई बैबाहिक वार्षिकोत्सवको शुभकामना दिँदै भजनमार्फत धामको प्रचार, विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेको बताए । ‘अखण्ड दीप प्रज्वलनमा उहाँहरुको सहयोग सधैँ छ’, सिग्देलले भने । 

कार्यक्रमलाई सिंहबाहिनी नौमती बाजा समूहको प्रस्तुतिले थप आकर्षण दिएको छ । समूहमा आवद्ध महिलाहरुले नाटक मञ्चन गर्दै साहित्यको विकासमा श्रेष्ठ दम्पत्तिले खेलेको भूमिकाको प्रशंसासहित उपहार प्रदान गरेका छन् । 

  • उत्कृष्ट प्रतिभा पुरस्कृत

साहित्य चौतारीले अध्यक्ष हस्त परियारको अध्यक्षतामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गीत तथा कविता प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा कवितातर्फ पाँचथरकी जीना अधिकारी पहिलो र रेजिना बाँस्कोटा दोस्रो भएको साहित्य चौतारी झापाका सचिव खगिन्द्रा खुशीले बताइन् । 

गायनतर्फ प्राञ्जल कला केन्द्र भद्रपुरकी विद्यार्थी बालप्रतिभा आयुषा घिमिरे प्रथम भएकी छन् । कार्यक्रममा प्रसुन गुरागाई दोस्रो, रोहिका तिम्सिना तेस्रो र अनुष्का नेपाल चौथो भएका छन् । उत्कृष्ट प्रतियोगीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको काव्यसभाकी संयोजन सुनिता तामाङले बताइन् ।