बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको अनुगमन गरेको छ ।नगर उपचप्रमुख नगेन्द्र प्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामांग, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले  घरहरुको अनुगमन गरेको हो । 

वडामा ६ वटा घर निर्माणका लागि  गत आर्थिक वर्षमा छुट्टीएको बजेटबाट बनेका घरहरुको अनुगमन गरीएको नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए। उनले निर्बाचन लगायत विविध कारणले घर निर्माणमा ढिलाई भएको बताए।

प्रति घर २ लाख २० हजार रुपैयाँका दरले जम्मा १३ लाख २० हजार रुपैयांमा ६ वटा घर निर्माणका लागि बजेट छुटिएको थियो । तर निर्माणका क्रममा नगरले दिएको बजेटको अतिरिक्त रकम घरधनी आफैले थप गरेरसमेत घर निर्माण गरीएकोले फरक फरक ढंगका घरहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए।

वडाका कर्ण बहादुर शेर्मा, प्रेमा कुमारी सार्की, शोवी सार्की, उमा दाहाल, मन्जु सोरेन र धनमाया निरौलाको घर निर्माण गरिएको हो ।नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका भित्र विगत ५ वर्ष यता जनता आवास कार्यक्रम अन्तर्गत ६ सय वटा भन्दा बढी घरहरु निर्माण भएको जानकारी दिए । उनले यस चालु आर्थिक वर्षमा समेत सहारा नेपाल र ह्यावी ट्याट नेपालसंगको सहकार्यमा घरहरु निर्माण हुने बताए ।

उप प्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका जनताको आवास सुनिश्चित गर्ने तर्फ रहेको र आगामी दिनमा समेत यसैगरी घर निर्माण गर्दै जाने बताए ।