झापा । 

इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा नेपालकै सवैभन्दा ठूलो गणेश भगवानको प्रतिमा अनावरण भएको छ । 

नयाँबजारको दुर्गा मन्दिरमा २१ फिट अग्लो गणेशको प्रतिमा उद्घाटन गरिएको हो । गाउँपालिका नयाँबजारका युवा तथा व्यवसायी मुकेश भण्डारीले गणेशको प्रतिमा आफ्नै लगानीमा निर्माण गरेका हुन् ।

मुर्ती निर्माण सम्पूर्ण काम सम्पन्न हुँदा २२ लाख खर्च लागेको भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार गणेशको प्रतिमा लगभग नेपालकै अग्लो हो । उनले अन्य ठाउँमा त्यती ठूलो मुर्ति नभएको दाबी गरेका छन् । हाल काठमाडौ बस्दै आएका भण्डारीले आफु जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउन  गणेशको प्रतिमा आफ्नै खर्चमा बनाएको बताए ।

 गणेशको प्रतिमाको अनावरण दुर्गा मन्दिर संरक्षण समिति र समाजसेवी विभिन्न मन्दिरका बाबाजीहरुसहित भण्डारीको उपस्थितिमा  गरिएको हो । गणेशको प्रतिमा रोजन आर्ट स्टुडियो धरानका कलाकारहरुले निर्माण गरेका हुन् ।